काठमाडौं – चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समय दक्षिण कोरियामा समेत फैलन थालेपछि इपिएस मार्फत कोरिया जान लागेका ४० जना नेपालीको उडान तत्काललाई स्थगित गरिएको छ ।
उनीहरू फागुन १८ गते नेपालबाट उड्ने तयारीमा रहेका थिए । कोरोनाको प्रकोप फैलिरहेको स्थानमा नेपालबाट कामदार पठाउनु खतरा हुने इपिएस कोरिया शाखा प्रमुख कृष्ण खनालले बताउनुभयो । उहाँले कोरोनाको प्रकोप घटेपछि भने नेपाली कामदार पठाइने जानकारी दिए ।
केही दिन अघिसम्म कोरियामा कोरोनाको खासै प्रभाव नदेखिएकाले नेपालीहरुलाई सावधानी पूवर्क रहन सुझाव दिए । कोरियामा अहिले करिब ४४ हजार नेपाली कामदारहरु रहेका छन् । ती मध्ये ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर कोरिया पुगेका हुन् भने बाँकी अन्य प्रक्रियामार्फत कोरिया पुगेका हुन् ।
इपिएस शाखा प्रमुख खनालले अर्को मिति प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी पनि दिए । खाडी मुलुकमा कम पारिश्रमिकमा धेरै काम गर्नुपर्ने वाध्यता भन्दा कोरियामा श्रम अनुसारको पारिश्रमिक राम्रो हुने भएकाले कोरिया नेपाली कामदारको पहिलो रोजाईमा पर्दै आएको छ ।