काठमाडौं –आज पनि देशका विभिन्न ठाउँमा चट्याङसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुसँगै पूर्वमा बनेको न्यून चापीय प्रणालीको असरले आज देशभरिकै मौसम आशिंकदेखि सामान्य बदली भइ केही ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज मध्य र पूर्वको धेरै तथा पश्चिमको पहाडी क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगको थोरै ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । यस्तै दिउँसोपछि केही ठाउँमा हावाहुरी पनि चल्ने उहाँको अनुमान छ । भोलीदेखि मौसम बिस्तारै खुले पनि पूर्णरुपमा सफा हुन भने अझै केही दिन लाग्ने मौसमविद् पोख्रेलको भनाई छ ।
बुधबार देशको पहाडी भेगमा आँशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै बिहिबार देशको पहाडी भेगमा आँशिक बदली रहनेछ साथै पूर्वि पहाडी भेगका एक/दुई स्थानहरुमा मेघ गर्जन् / चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।