काठमाडौं – एक साताका लागि बिदा बसेका प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्राविधिक प्रहरी निरीक्षक डा. मोहमद फिरदोश आलम बिदा लिएको चार महिनासम्म पनि हाजिर नभएपछि खोजी सुरू गरिएको छ ।
अस्पताल प्रशासनका अनुसार आलमको ८ कात्तिकबाट लागू हुने गरी सात दिनका लागि घर विदा स्वीकृत भएको थियो । तर, अहिलेसम्म हाजिर नभएपछि गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाले फिरदोशमाथि थप कानूनी प्रक्रिया अघि बढाएको छ ।
गृह मन्त्रालयका अनुसार लामो समयसम्म गैरहाजिर रहेपछि अस्पतालले खोजतलासका लागि भन्दै जिल्ला प्रहरी कार्यालय, रौतहटमा पत्राचार गरेको थियो । यद्यपि, रौतहट प्रहरीले उनको ठेगानामा फेला पार्न नसकेको जवाफ फर्कायो ।
त्यसपछि कारबाही प्रक्रिया अढि बढाइएको जनाइएको छ । शुक्रबार मन्त्रालयले हाजिर हुन आउनेबारे म्याद सम्बन्धी सूचना पनि जारी गरेको छ । सूचनामा भनिएको छ, ‘सूचना प्रकाशित भएको मितिले सात दिनभित्र तपाईंलाई नोकरीबाट हटाउनु नपर्ने कुनै मनासिव कारण भए सन्तोषजनक स्पष्टिकरण जवाफ लिइ पेश गर्न आउनु होला ।’
नभए प्रहरी नियमावली, २०७१ बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाइने भनिएको छ । अस्पतालमा कार्यरत् एक उच्च अधिकृतका अनुसार एमबीबीएस गरेका आलम प्रहरी अस्पतालमा प्रवेश गरेको डेढ वर्ष मात्र भएको थियो ।