काठमाडौँ – सरकारले औषधि निर्यात फुकुवा गर्न भारतलाई आग्रह गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेनलमा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले औषधि निर्यात खुलाउन आग्रह गर्ने निर्णय भएको जानकारी दिएका हुन् । भारतले कोरोनाको संक्रमण देखिन थालेपछि हिजो २६ प्रकारको औषधि निर्यात प्रतिबन्ध गरेको थियो ।
सरकारका प्रवक्ता मन्त्री खतिवडाले कोरोना रोग रोकथाम तथा नियन्त्रण गर्ने विषयमा उच्चस्तरीय समन्वय समितिले नेपालको हकमा निर्यात खुलाउन भारतलाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए । तर,सरकारले तत्कालका लागि भारतले निर्यात प्रतिबन्ध लगाएका २६ प्रकारका औषधिको स्टक नेपालसँग भएको उनले बताए । यस्तै, स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले औषधि अभाव हुन नदिन मन्त्रालयले औषधि व्यवस्था विभाग र औषधि उत्पादक कम्पनीसँग छलफल गरेको जानकारी दिए । तर भारतबाट आपूर्ति खुलाउन आवश्यक रहेको उनले बताए ।
यस्तै भारतले अत्यावश्यक औषधीको सूची उपलब्ध गराउन नेपाल सरकारसँग माग गरेको छ । २६ प्रकारका औषधी र तीनका कच्चा पदार्थ निर्यातमा कडाई गरेको भारतले नेपालसँग अत्यावश्यक औषधीको सूची मागेको हो । भारतले नेपाललाई जरुरी औषधीबारे जानकारी गराए आपूर्तिमा केही सहज बनाउने जानकारी समेत गराएको उपप्रधानमन्त्री एवं कोरोना रोकथामका लागि सरकारले बनाएको उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले बताए ।
