एजेन्सी– फ्रेन्च प्रधानमन्त्री इडुआर्ड फिलिपले फ्रान्सका सबै रेष्टुरेन्ट, सिनेमा घर, क्याफे, डिस्को तथा अन्य अत्यावश्यकबाहेकका सबै पसलहरु र सार्वजनिक स्थल बन्द गर्न निर्देशन दिएका छन् ।
पछिल्लो समय युरोपमा बढेको कोरोना भाइरस संक्रमणका कारण यस्तो कदम फ्रान्सले चालेको हो ।
फ्रान्समा पनि केही दिनयता कोरोना भाइरसका संक्रमित बढ्न थालेका छन् ।
प्रधानमन्त्री फिलिपले फ्रेन्च नागरिकलाई यात्रा नगर्न पनि अनुरोध गरेका छन् । विशेषगरि सहरमा भीडभाड बनाउन र यात्रा नगर्न उनले अनुरोध गरेका छन् ।
शनिबारमात्र फ्रान्समा ३६६१ बाट कोरोना भाइरस संक्रमितको संख्या बढेर ४४९९ पुगेको छ । शनिबार फ्रान्समा कोरोना भाइरस संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
