काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आगामी चैत्र ६ गतेबाट शुरु हुने भनिएको एसईई परीक्षा सर्न सक्ने बताएका छन् । कोरोना भाइरस संक्रमणको जोखिमका देखाउदै परीक्षा सर्न सक्न बताएका हुन ।
आइतबार राष्ट्रियसभामा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले नागरिकको अभिभावक सरकार भएकाले कुनै पनि नेपालीमा कोरोनाको संक्रमण देखिएमा त्यसको उपचार सरकारले गर्ने पनि बताए । संक्रमण देखिएकाहरुलाई सरकारले सुरक्षा दिने विषयमा दिएको अभिव्यक्तिको रक्षा गर्दै मन्त्री ढकालले आफूले बताएको कुरालाई सञ्चारमाध्यमले समाचार लेख्दा अर्कै लेखिदिएको भन्दै गुनासो गरे । केही दिनअघि आफूले जनता आफैँले कोरोनाको संक्रमणबाट बच्न सचेत हुन आग्रह गरेको उनको भनाई थियो । उनले मुलुकभर २ सय ३५ वटा आईसीयू र १ सय ५५ आईसोलेसन बेड व्यवस्था गर्न सरकार जुटिसकेको बताए ।
यस्तै स्वास्थ्यमन्त्री ढकालले मुलुकभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला तहमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएका छन् । उनले कोरोनाको सम्भावित संक्रमणविरुद्ध परिचालन हुन सिडियो र स्वास्थ्यकर्मीहरुलाई जिल्ला नछाड्न निर्देशन दिएका हुन् । कोरोना भाइरसको संक्रमणविरुद्धको रणनीति निर्माण तथा कार्यान्वयनमा परिचालन हुने कर्मचारीदेखि स्वास्थ्यकर्मीहरुले भोग्नुपर्ने सम्भावित जोखिम तर्फ पनि सरकार सचेत रहेको मन्त्री ढकालले जानकारी दिए ।