नेपाली सेनाले पछिल्लो परिवेशको बारेमा गम्भीर समीक्षा गरेको छ। बिहीबार र शुक्रबार जंगी अड्डामा राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशको गहन समिक्षा भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
छलफलमा चार वटै कमाण्डका कमाण्ड सेनापतिहरू, जङ्गी अड्डाका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयहरूबाट जर्नेलहरू सहभागी थिए। हरेक कमाण्डरले आफ्नो क्षेत्रको वर्तमान परिवेश बारे प्रस्तुती गरेका थिए।
उक्त छलफलको समापनमा प्रधानसेनापति प्रभुराम शर्माले समन्वयात्मक बैठक फलदायी भएको बताए। नेपाली सेना सामुहिक स्वामित्व र सामुहिक निर्णयलाई निरन्तरता दिने बताए।
प्रधानसेनापति शर्माले चार वटै कमाण्डका कमाण्ड सेनापतिहरूलाई आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई मध्यनजर गरी नेपाल सरकारबाट प्राप्त हुन सक्ने जस्तोसुकै जिम्मेवारी वहन गर्न तयारी अवस्थामा रहन निर्देशन दिए।
जिम्मेवारी क्षेत्रभित्र हुन सक्ने सुरक्षा चुनौतीहरूलाई सुक्ष्म अध्ययन तथा विश्लेषण गरी सोही अनुसार अन्य सुरक्षा निकायसँगको सहकार्य र सूचना संकलनमा जोड दिँदै नेपाली सेनाले गर्नुपर्ने सम्भावित भूमिकाको लागि तयारी हालतमा रहन निर्देशन दिए। निर्वाचन सम्बन्धि सम्पूर्ण कार्य उत्कृष्ठ ढंगले सम्पन्न गर्न पनि प्रधानसेनापति शर्माको निर्देशन छ।
नेपाली सेनाको पेशागत लक्षता अभिवृद्धि गर्न र तालिमलाई आधुनिकीकरण गर्न साधन श्रोतको मितव्ययी व्यवस्थापन तथा सुनिश्चितता गरी समष्टिगत रुपमा उक पेशेवर सेनाको निर्माण गर्न सधै प्रयत्नशील रहनुपर्ने प्रधानसेनापति शर्माले बताए।
सकलदर्जाको अनुशासन एवं वेलफेयरलाई अझ सुदृढ गराउँदै लैजानु पर्ने आवश्यकता पनि शर्माले औंल्याए।
बैठकमा उठेका विषय तथा प्राप्त सुझावहरूले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश हुने नेपाली सेनाले जनाएको छ।
