– टीकाप्रसाद भट्ट
२०४५ फागुन २५ गते बुधबारका दिन हामी मच्छेडाँडीको सडकमा उभिएर रामेछापबाट जिल्ला सदरमुकाम आएको हेर्दै थियौं । मन्थली गाउँ पञ्चायतका प्रधानपञ्च दिनेशराज शर्माको उर्दी मानेर हामी जिल्ला सदरमुकामको स्वागतको लागि त्याँहा पुगेका थियौं । पन्चेबाजा बजाउने टोली पनि थियो । थुप्रै मानिस थियौं । प्रधानपञ्च शर्मा एकोतार सुकाजोर खोलाको वितिटार नजिकको वगरमा चिहाइरहनुभएको थियो । सगसगैं हामी पनि । कसैले जिल्ला पञ्चायतको तारे घोडा आयो भन्थे । तारे त्यसबेलाको नामी घोडा थियो । बलियो, सुन्दर, जिल्लामै सवैभन्दा रुचाईने, अरुले भेट्नै नसक्ने गरी सुईकुच्चा ठोक्ने अनि इमान्दार पनि । जिल्ला पञ्चायतका सभापतिले त्यो घोडा चढ्थे । सवैको अनुमान के थियो भने घोडामा सवार मध्ये तारे नै सबै भन्दा चाँडो देखिन्छ । तर अँह सबैको अनुमान मित्थ्या वनाउने गरी तारे अघि बढेन । त्यो त कालो बुट्टो रहेछ । हाम्रा आँखा टट्टाए । न तारे आयो न सदरमुकाम । त्यस बेला मान्छेले ल्याउने सूचनाको भरमा विश्वास मान्नुपथ्र्यो , अहिलेको जस्तो तत्काल सम्पर्क गर्ने साधन थिएन । शर्माले भन्नुभयोे – आज आएन फक्र्यौ । हामी फक्र्यौं । सदरमुकाम नलिईकन ।
दोश्रो दिन रामेछापमा रहेका प्रमुख जिल्ला अधिकारी र जिल्ला पञ्चायतमा के भएको रहेछ भन्ने कुरा बुझ्न शर्माले मानिस रामेछाप पठाउनुभयो । त्यसपछि थाहा भयो ,त्यहाँका मानिसले चाल पाए गाह्रो पर्छ ,हल्ला गर्ने तर नहिड्ने रणनीति थियो रे त्यो दिनको । हल्ला चल्दै गर्दा पत्तो नपाई सुईकिने विचारमा प्रशासक रहेछन । नभन्दै पर्सीपल्ट अर्थात २०४५ साल फागुन २७ गते शुक्रबारका दिन सदरमुकाम लिएर तारे घोडा वेतोडले सुकाजोरबाट मन्थली तिर हानियो । जिल्ला पञ्चायतका सभापति स्व. इन्द्रप्रसाद ढुंगेल, कामु प्रमुख जिल्ला अधिकारी हरीकृष्ण खतिवडा, स्थानीय विकास अधिकारी गोबिन्द कुशुम सहितको टोली घोडामा आयो । संगसगैं राष्ट्रिय झण्डा, सरकारी निशानछाप, कार्यालयका बोर्ड, दर्ता चलानी र केहि महत्वपूर्ण कागजात लिएर अरु कर्मचारी पनि । जिल्ला पञ्चायतका सभापति र प्रमुख जिल्ला अधिकारीको आदेशमा जिल्लामा रहेका सवै कार्यालयहरु पोको कसेर झरे । एकपछि अर्को गर्दै मन्थलीमा थुप्रीए , त्यहि दिन । कार्यालयको फर्निचर र अरु सामान विस्तारै बोकाईयो ।
मन्थलीमा सुविधा सम्पन्न घर थिएनन् । प्रधानपंञ्च दिनेशराज शर्माको घर ( जुन हाल पनि मन्थली नगर विकास समितिको स्वामित्वमा छ ) मा झण्डा गाडियो । नजिकै उनका साईलाबाबुको घरमा प्रहरीको झण्डा । जिल्ला पञ्चायतको झण्डा स्कुलमा गाडियो । कक्षा ७ सम्म पढाई हुने स्कुलमा अड्डा बस्यो ।
एक घरबाट अर्को घर जान टाढा थियो । बाटो गोरेटो मात्र । सदरमुकाममा कार्यालयलाई सुहाउँदो भवन एउटै थिएनन । त्यसबेला मछ्छेडाँडीमा कोलेनिका र सार्वजनिक निर्माण शाखा, भैंसेश्वरमा भुमिसुधार, मालपोत र नापी कार्यायय गडुवारीमा सिंचाई कार्यालय र जिल्ला सरकारी वकिल कार्यालय आकाशेमा पशु विकास कार्यालय , जिल्ला अदालत, , घरेलु तथा साना उद्योग विकास समिति, खानेपानी, खाँदवारीमा कृषि विकास कार्यालय , सहकारी कार्यालय, जिल्ला जनस्वास्थ्य, बन र भू-संरक्षण कार्यालय , जनकपुर चुरोट कारखाना बसे । खाँदबारीमा तामाकोशी सेवा समिति, खाद्य संस्थान र कृषि सामाग्रिको गोदाम राखियो । सरकारी कार्यालय बसेका अधिकांश घर साना, साँघुरा थिए । कुनै खरले कुनै ढुंगा र कुनै टायलले छाएका । प्रधानपञ्च शर्माको घरमा बाहेक अन्य कुनैमा शौचालय थिएनन ।
केहि समयपछि जिल्ला प्रहरी कार्यालय आकाशेमा स¥यो । जिल्ला प्रशासन कार्यालय स्कुलमा गयो । प्रधानपञ्च दिनेशराज शर्माको घरमा राष्ट्रिय बाणिज्य बैंकको नयाँ शाखा स्थापना भयो । तत्कालिन महेन्द्रोदय निमावि हालको विद्युत प्राधिकरण रहेको स्थानमा सेउलाले बारेर संचालन गरियो । गिरीदाश श्रेष्ठको घरमा नेपाल दुरसंचारले भिएचएभ टेलिफोन संचालनमा ल्यायो ।
केहि घिमिरेका घर खाली थिए । कागतिबोटे नबराज घिमिरेको सानो घरमा जिल्ला पञ्चायतका सभापति इन्द्रप्रसाद ढुंगेलले क्वार्टर वनाए । कुलबहादुर श्रेष्ठको घरमा योजना अधिकृत, भरतराज मन्थलीयको घरमा प्रमुख जिल्ला अधिकारी, राजेश घिमिरेको घरमा स्थानीय विकास अधिकारीको निवास भयो । अरु कर्मचारी छरिएर वसे । न्यायाधीश क्वार्टर आकाशेमै थियो ।
२०८ बर्ष सम्म रामेछापमा बसेको जिल्ला सदरमुकाम सर्दा कुनै कर्मचारी खुसी थिएनन । सुविधाको हिसावले । त्यसबेलाका हाकिमहरुलाई एउटा कुराले खुसी तुल्याएको थियो , विमानस्थल । सातामा तिन दिन उडान हुन्थ्यो मन्थली विमानस्थलबाट । हाकीमहरु प्लेन चढ्थे । बाहिरका कर्मचारीलाई पनि बाटो छोटिएको थियो । तर त्यतिले पनि उनीहरु खुसी थिएनन् । रामेछापमा सामाजिक परिवेश थियो, कार्यालयहरु थोरै हिड्दा भेटिन्थे, ढुंगा छापेको दोहोरो वजार थियो, हावापानीका हिसावले सधैं सित्तल । जाँदा आउदा उकालो ओरालो र वस्दा खानेपानीको थोरै अभाव बाहेक अरु त्यति सास्ती थिएन ।
मन्थली असाध्यै गर्मी हुन्थ्यो । बिजुली थिएन । रामेछापमा सुँघुरे साना जलविद्युतको बिजुली उपयोग गरेका उनीहरु मन्थलीमा टुकीको भरमा परे । खानेपानी थिएन । शनिबार आयो कि रणजोर खोला र तामाकोशीमा नुहाउने र लुगाधुनेको भिड लाग्थ्यो । चनौटे ( रणजोर खोला नजिकैको जरुवा, जुन आज पनि चल्तिमै छ ) मा खानेपानीको भर्नका लागि भिड लाग्थ्यो । शौचालय जानका लागि खोला र खोल्सी हेरीन्थ्यो । कुलो, बुट्टो, खेतका कान्ला, रणजोर र तामाकोशीका बगर दिसापिसावले दुर्गन्ध थिए । हरीयो तरकारी खान पाईदैनथ्यो । सोमबार मन्थलीमा हाटबजार लगाउन थालियो । त्यहि एकदिन लागेको हाटमा आउने तरकारीले एकसाता पु¥याउनु पर्दथ्यो ।
सदरमुकाम आएपछि कर्मचारी र सेवा लिन आउनेका लागि संगसगैं रामेछापबाट केहि व्यवसायी पनि झरे । ताम्राकार होटल र नयाँ होटल आकाशेका चर्चित थिए । सानो घर भाडामा लिएर अरु बाँसका चित्राले बारेर होटल चलाएको थियो । केहि समयपछि गडुवारीमा लालु र आकाशेमा चुचुरे माइलाको होटल पनि थपियो । बाँसैले नै बारेका थिए ति पनि । हालको विपीचोकमा बावियाखर्कका शिव रायको ठुलै होटल थियो । रामेछापबाट आएका विष्णुवहादुर मगरले भन्जाङ्गमा किराना पसल खोल्नुभयो । सालुबाट आएका तुलसीदाश उदासले भन्ज्याङ्गको भिमसेनस्थान पिपलरुख नजिकै कपडा पसल खोल्नुभयो । झाँगाझोलीका एकजना व्यापारीको गिँदरीको रुख भएको स्थान ( हालको जिएस होटल नजिक ) मा भोजनालय थियो । त्यसअघि पिपलवोटे कृष्णदाश श्रेष्ठ (डिल्लु साहु ) र गिरीदाश श्रेष्ठको किराना पसल छदैथियो । आकाशेमा खड्पुले, करमबोटमा नारायणदाश श्रेष्ठ र मन्थली पुलमा काजिदाश श्रेष्ठ र ज्ञानभक्त श्रेष्ठका ठुलै पसल थिए । स्थानीय र सदरमुकामको आवश्यकता उहाँहरुले धानीदिनु भएको थियो ।
समय वित्दै गएपछि सदरमुकामका लागि न्यूनतम सुविधाका लागि वजेट परिचालन भयो । टेकनपुरको भुनेखोलाको पानी हालको खानेपानी डिभिजन सम्म ल्याएर केहि स्थानमा सार्वजनिक धारा बाँडियो । त्यै पनि आवश्यकता पुरा हुदैनथ्यो । रणजोर र तामाकोशी जाने उत्तिकै थिए ।
सरकारले मन्थलीमा भएका जग्गा अधिग्रहरण गरेर मन्थली नगर विकास समिति घोषणा ग¥यो । स्थानीयहरुको जग्गा अधिग्रहण भयो । ख्यातिप्राप्त आर्किटेक्ट डा. बाबुराम भट्टराईले मन्थलीको माष्टरप्लान बनाउनुभयो । जग्गा प्लानिङ्ग भयो । तर त्यसै बेला घर बनेनन् । जग्गा पारित हुने अवस्था पनि भएन । धेरै पछि बल्ल जग्गा बाँडिएको हो ।
तत्कालिन राष्ट्रिय पञ्चायतका अध्यक्ष नबराज सुवेदीले रामेछाप सम्म पुग्ने सडक खनाउनुभएको थियो । ठाउँठाउँमा । मन्थली भन्ज्याङ्गमा पनि त्यसवेला सडक थियो । हालको देवकोटा चोक देखि जिल्ला समन्वय समिति सम्मको सडकमा दोहोरो बाँसका कत्तरले बारेका छाप्रा बसे । खर र जस्ताले छाएका । त्यसैमा धेरैले व्यवसाय संचालन गरे । कार्यालयमा आउने जानेका लागि त्यहि खाने र वस्ने मेलो भयो । ठुला कार्यक्रम हुदा आउने सर्वसाधारणहरु कति त बाहिरै सुत्थे ।
त्यस बेला जिल्ला पञ्चायतका लेखापाल डोरवहादुर घिमिरेले पिपलरुखदेखि उत्तरतर्फ लस्करै काठका छाप्रा बनाउनुभयो । रामेछापबाट घर भत्काएर ल्याएका फल्याकले बारेका त्यस्ता छाप्रामा थुप्रै कर्मचारी वस्थे । हालको देवकोटा चोकको पिपल चौतारामा मान्छे वस्नका लागि मुढा गाडेर फल्याकको बेन्ची बनाइएका थिए । महिला नेतृ दालकुमारी सुनुवारले हालको क्याम्पस नजिक बालमन्दिर वनाउनु भएको थियो ।
जिल्ला सदरमुकाम सरेको ठ्याक्क एक बर्षपछि पञ्चायत व्यवस्था ढल्यो । बहुदलीय व्यवस्था आयो । नेपाली काँग्रेस र तत्कालिन बाममोर्चाले निर्मल लामा ल्याएर ठुलो कार्यक्रम गरे । अहिलेको तिनलाल पार्क नजिक । पार्टी कार्यालयहरु वसे । नेपाली काँग्रेसको कागतिबोटे नबराज घिमिरेको घरमा, नेकपा माले हर्कवहादुर श्रेष्ठको मा जनमोर्चा डिल्लु साहुकोमा । का“ग्रेसका सभापति स्व. मिनवहादुर भण्डारी र सचिव स्व. रामहरी ढुङ्गेल विशेष सक्रिय हुनुहुन्थ्यो । जनआन्दोलनको बेलाका चर्चित युवा नेताहरु युवराज भट्टराई र ध्रुवहरी ढुङ्गेल लोकप्रिय हुनुहुन्थ्यो । मालेमा देवशंकर पौडेल, कैलाश ढुंगेल र जनमोर्चामा अमरवहादुर लामा, रामवहादुर कार्की लगायत सक्रिय हुनुहुन्थ्यो । त्यसबेलामा काँग्रेसका नेता बग्रेल्ति थिए । अहिलेको नेकपाका जस्ता । नेकपाका नेताहरु थोरै थिए ।
त्यसबेला रामेछापमा थुप्रै नेताहरु आउथे । मन्थली र रामेछाप दुवै तिर जाने । एकपटक बाम नेता मोहनचन्द्र अधिकारी रामेछाप पुगेका बेला रामेछापबासीले सदरमुकाम फिर्ता ल्याउनका लागि माग गरेछन । अधिकारीले अधिकार मागेर हैन खोसेर ल्याउनु पर्छ भन्दिनुभएछ । रामेछापबासीले त्यहि कुरालाई आधार बनाएर सदरमुकाम लुटेर लैजाने योजना बनाउनुभएछ । मन्थली तिरका कसैलाइ सुइको सम्म नदिई २०४७ साल असार ७ गते रामेछापबाट दशौं हजार मानिसबाट दिउसै सदरमुकाममा धावा बोल्ने काम भयो । रोक्न खोज्ने केहि स्थानीयले कुटाई भेटे । सरकारी कार्यालयका छाप, बोर्ड, कुर्ची, कागजपत्र लगाएत लिएर हजारौंको जुलुस रामेछाप तिर उकालियो । रामेछाप पु¥याएका सामान जुन जहाँबाट ल्याएको थियो, त्यहि घरमा राखियो ।
त्यसबेला स्व. कृष्णप्रसा भट्टराई नेतृत्वको अन्तरिम सरकार थियो । गृहमन्त्री स्व.योगप्रसाद उपाध्याय हुनुहुन्थ्यो । रामेछापमा कामु प्रमुख जिल्ला अधिकारी लोकप्रसाद आचार्यले जिल्ला सदरमुकाम लुटिएको जानकारी केन्द्रमा गराएपछि केन्द्रले मन्थली विमानस्थलमा थप सुरक्षाकर्मी उतारेर रामेछाप पठायो । त्यसबेला कुनै कर्मचारी पनि रामेछाप गएनन । मन्थलीमै वसे । सदरमुकाम फर्काउन रामेछाप पुगेका सुरक्षाकर्मीलाई स्थानीयले घेरे । लाठिचार्ज भयो । प्रहरी पनि घाईते भए । राज्यले चाहेपछि सदरमुकाम रामेछापमा वस्ने कुरा थिएन, फेरी सुरक्षाकर्मीले लगेका सामाग्रीहरु बोक्न सुरु गरे । सुकाजोर खोलाको भोर्ले सम्म सरकारले र त्यसपछि मन्थली सम्म स्वयंसेवकले । सदरमुकाम चाहिनेले बोक्न जाने भन्ने उर्दी लागेपछि हामी पनि सुकाजोरको भोर्ले देखि सामान वोक्नेमा गयौं । म त्यसबेला पेट्रोलमेक्स बाल्न सिपालु थिए । २ ÷३ वटा पेट्रोलमेक्स बालेर राति सामान बोकेर मन्थली ल्याउथ्यौं । त्यसरी स्वयंसेवक गर्नेलाई शिव रायकोमा खानाको व्यवस्था गरिएको थियो । मालपोतका ढड्डा बोक्दा धेरैका काँधका छाला थिएनन । साता दस दिन सम्म त्यसरी सामान बोकियो । त्यसबेला कतिपय मालपोतका श्रेस्ता र नागरिकताको रेकर्ड हरायो । अहिले पनि दुवै कार्यालयमा सोहि व्यहोराको निर्णय गरेर नयाँ विवरणको आधारमा काम गर्ने चलन छ ।
२०४८ सालको बैसाखमा आम निर्वाचन भयो । रामेछापको १ नम्बरमा काँग्रेसका लक्ष्मणप्रसाद घिमिरे र २ नम्बरमा जनमोर्चाका कमलप्रसाद चौलागाईले जित हासिल गर्नुभयो । त्यसको केहि समय पछि मन्थलीमा रहेका स्वास्थ्य, बन र भू संरक्षण कार्यालय फेरी रामेछापमा सार्ने निर्णय मन्त्रीस्तरिय निर्णयबाट गराएर रातारात ति कार्यालय कसैले चालै नपाउने गरी रामेछाप उकालिए । जुन आज सम्म पनि त्यहि छन । अरु गएनन । त्यसबेला सम्म जिल्ला सिंचाई र जिल्ला विकास समितिको सभाहल भवन वनेको थियो । अरु कार्यालय भाडामै थिए ।
भन्ज्याङ्ग मुख्य थलोमा सुविधा थपिदै गए । अहिलेको नगर विकास कम्प्लेक्स नजिकै ठुलो जेनेरेटर राखेर सुनकाजी आलेले मन्थलीका सवै घरमा बाँसको पोल राखेर विजुलीको बल्भ झुण्ड्याउनु भयो । वेलुका ३ घण्टा जेनेरेटर चल्थ्यो । उहाँले नै त्यहि थलोमा भिडियो देखाउनु हुन्थ्यो । सानो फल्याकले बारेको हल थियो । त्यसको अघिल्तिर जेएन दाहालले एउटा काठको कालो दराजमा केहि उपन्यासका पुस्तक र पत्रपत्रिका राख्नुभएको थियो । स्व. पत्रकार राजकुमार केसीले हालको जिल्ला अदातल नजिक डाडाँमा फल्याकले बारेको पत्रिका पसल चलाउनु भएको थियो ।
तत्कालिन दुई कम्युनिष्ट घटक मिलेर नेकपा एमाले वनेपछि देवशंकर पौडेलले मन्थलीमा कार्टुन बनाएर टाँस्न थाल्नु भयो । कार्टुनमा सरकार र विपक्षीपार्टीलाई व्यंग्य गरीएको हुन्थ्यो । कार्टुन प्राय विष्णुवहादुर मगरको पसलको भित्तामा टांसिन्थ्यो । धेरैले त्यसलाई हेरेर एकसाताको कुरा गर्ने मसला वनाउथे ।