काठमाडौं – सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर यदि तपाईं बिना काम बाहिर हिँडिरहनु भएको छ ? यदि छ भने तपाईं प्रहरीको फन्दामा पर्न सक्नुहुनेछ । अत्यावश्यक कामबाहेक त्यत्तिकै हिँड्नेलाई प्रहरीले समातेर आजदेखि आफैं क्वारेन्टाइनमा राख्ने भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई व्यवस्थित गर्न आजदेखि थप कडाइ गरिएको छ । सरकारले सम्भावित सङ्क्रमणबाट बच्नका लागि गरेको लकडाउनमा मानिस घर बाहिर निस्कन थालेपछि थप कडाइ गरिएको हो । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यम लगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा निस्किन पाउनेछन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले आज लकडाउनको पाचौं दिन अन्य दिनको भन्दा हिँडडुलमा कडाइ गरेको बताए। “लकडाउनलाई उल्लङ्घन गर्न थालेपछि आजदेखि हामीले थप कडाइ गरेका हौँ” उनले भने, “बिना काम बाहिर निस्कनेलाई नियन्त्रणमा लिइनेछ ।”
उनका अनुसार यसरी मानिस अनावश्यक रुपमा बाहिर निस्केकालाई नियन्त्रण गर्नका लागि परिसरले दुईवटा गाडीमा प्रहरीको विशेष टोली परिचालन गर्ने भएको छ । टोलीमा रहेका प्रहरीले आफूसँग भएको उपकरणमार्फत २–३ फिट टाढैबाट बाहिर हिँडिरहेका मानिसलाई नियन्त्रणमा लिनेछ ।
“ती दुई गाडीमा रहेका प्रहरीको गस्ती सानासाना गल्लीमा पनि जान्छन् । अनावश्यक रुपमा हिँडिरहेकालाई हामीसँग भएको उपकरणले नियन्त्रणमा लिन्छौँ” उनले भने “यसरी नियन्त्रणमा लिएकालाई प्रहरीको क्वारेन्टाइनमा राखिनेछ ।”
उनले कुनै धर्ना, जुलुस नभई महामारी रोक्नका लागि सरकारले चालेको कदमलाई सबैले सहयोग गरेर बाहिर ननिस्कनसमेत आग्रह गरे ।
विश्वव्यापी रूपमा कोरोना भइरसको महामारी बढ्दै गएपछि सरकारले यही चैत ११ गतेबाट लागू हुने गरी लकडाउनको घोषणा हो ।
सरकारले अत्याश्यक खाद्यपदार्थबाहेक अन्य सवारी साधन चल्न दिएको छैन भने मानिसलाई पनि बाहिर ननिस्कन भनेको छ । अहिलेसम्म नेपालमा विदेशबाट आएका ४ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । लकडाउनमा अत्यावश्यकीय पसलबाहेक अरू सबै बन्द छन् । सरकारले दूध, पानी, खाद्यान्न, तरकारीलगायतका पसल खुल्ला राख्न आग्रह गरे पनि त्यस्ता अधिकांश पसल बन्द छन् ।
यसैबीच नेपालमा संक्रमितहरुको संख्या बढ्न थालेपछि सरकारले लकडाउन थप्ने तयारी गरेको छ । दैनिक आवश्यकिय सामानहरुलाई कसरी सहज गराउन सकिन्छ भनेर सरकारले यसको लागि उद्योगीहरु सँग सल्लाह गरेर निर्णय लिने बताएको छ । कति दिन थपिने र दैनिक आवश्यकिय सामानहरु कसरी सहज बनाउने भन्ने टुंगो भने लागि सकेको छैन ।
