रामेछाप – जिल्ला प्रशासन कार्यालय रामेछापले आजदेखि लागू हुने गरी २५ गते राति १२ सम्मका लागि निषेध आज्ञा जारी गरेको छ । यसअघिको निषेध आज्ञा सोमबार राति देखि सकिएको थियो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ अनुसार अत्यावश्यक काम बाहेक कोहि कसैलाई घर बाहिर ननिस्कनका लागि उक्त आदेश जारी गर्नुभएको हो ।
उक्त कार्यालयबाट सोमबार जारी भएको सूचनामा मंगलबार देखि खाद्यान्न, दुध, तरकारी र ग्यांस डिपोहरु विहान ५ देखि ८ बजे सम्म र बेलुका ५ बजे देखि ७ बजे सम्म मात्र संचालन गर्न पाउने उल्लेख छ । यसैगरी बैंक तथा वित्तिय संस्थाहरुले विहान ११ बजे देखि दिउसो १ बजे सम्म काउण्टर संचालन गर्न पाउने उल्लेख छ ।
स्थानीय प्रशासनको अनुमति नलिएका सवारी साधन संचालनमा पूर्ण रोक लगाइने , अत्यावश्यक सेवा बाहेकका अन्य कार्यालयका कर्मचारीलाई विदा दिने , स्वास्थ्य र खाद्यान्न लगाएत अत्यावश्यक सेवा दिने निकायले मास्कको प्रयोग गरी कम्तीमा १ मिटरको दुरी राखि सेवा दिन समेत आदेशमा उल्लेख गरीएको छ ।