रामेछाप, पानी र जनै

  • टीकाप्रसाद भट्ट

कक्षा ८ देखि रामेछापको गौरीशंकर माविमा पढ्न जानु पर्दथ्यो । मन्थलीमा कक्षा ७ सम्म मात्र पढाई हुन्थ्यो । रामेछाप जिल्ला सदरमुकाम र राम्रो नाम चलेको स्कुल भएकाले पनि धेरैको रोजाई गौरीशंकर मावि नै हुन्थ्यो । मन्थली तिरका कोही कोही चिसापानी र खिम्ती पनि जान्थे ।

हरेक आईतबार सामल तथा सातु बोकेर हामी रामेछाप जान्थ्यौं । स्कुले झोलामा लुगा, गुन्द्रुक, अलिकति आलु, चामल, भुटुन, भुटेका मकै भटमास सबै एकै ठाउँमा हुन्थ्यो । ३ घण्टा हिंडेर गयो, झोला बिसायो, हतार हतार स्कुल कुदुनु पर्ने । भए नभएको पानी बचाएर शनिबार आमाले धोईदिएको स्कुले सर्ट, पाइन्ट कुचुमुच्च सत्र मुजा परेको हुथ्यो । त्यहीमाथि भुटेका मकै भटमास र गुन्द्रुकको गन्ध आउथ्यो । रामेछाप तिरका साथीहरु हामीलाई जिस्क्याउथे । गुन्द्रुक ल्याइस हैन ? भन्थे । कुरा त सही हो, तर लाजले भुतुक्क भइन्थ्यो ।

स्कुलमा दिवा खाजाको लागि छुट्टी भएपछि हामी हुरुरु कुदेर मिलन होटल पुग्थ्यौं । ५ रुपैयामा खीर तरकारी खान पाइन्थ्यो । झण्डै १० पाथी खीर पाक्ने बढेमाको सिलबरे डेक्चीभरीको खीर विद्यार्थीले खर्लप्प पार्थे । तातो खीर अनि तरकारी । विद्यार्थीलाई के चाहियो ? रामेछापमा बजारमा दुईटा होटल चर्चित थिए । धर्म र मिलन होटल । धर्म साहु सुकाजोर तिरका । मिलन होटल गेलुका साहुले चलाएका थिए । दुवै खुब चल्तिका थिए । धर्मको भन्दा अझ मिलन होटल ज्यादा चलेको थियो । बिहीबारको दिन पाईलो टेक्ने ठाउं हुदैनथ्यो । बिहीबार साप्ताहिक हाट लाथ्यो । त्यो हाटमा त्यसबेला हजारभन्दा धेरै मान्छे आउँथे । सामान खरिद बिक्री मात्रै हैन, आफन्तसँग भेटघाट गर्ने थलो पनि त्यही हाट थियो ।

अहिलेको जस्तो फोन थिएन । मानिसहरु हाट बजार मेलापातमा भेटथे । घर व्यवहारको कुरा गर्थे । कोही कोही त प्रेमालाप गर्न पनि बिहीबार साइत जुराउँथे । बिहीबारे हाट त अझै लाग्दैछ । तर पहिलेको जस्तो सामान पाइँदैन, मानिसको भिंड हुँदैन ।
स्कुलबाट फर्कदा भोक लागि सकेको हुन्थ्योे । रामेछापमा जाडो खुब हुने, जाडोमा धेरै भोक लाग्छ भन्थे । हामीलाई हो जस्तै लाथ्यो । हामी मकै भट्मासको पाको खोल्थ्यौं । प्राय सबैैले खाजा त्यही नै लगेका हुन्थे घरबाट । हुनेले बदाम र फर्सीका बियाँ पनि मिसाएर लग्थे । त्यो अलि मिठो हुनाले पहिले त्यही पोको सकिन्थ्यो । पालैपालो सबैैको पोका साता दिनमा रित्तिन्थे । मन्थलीबाट धेरै विद्यार्थी रामेछापमा पढ्न जान्थे । सबैै चिनेजानेका हुन्थे । त्यही भएर खाजा सगोलमै खाने चलन थियो ।

रामेछापमा खाना पकाउने कुरा असाध्यै गाह्रो लाग्थ्यो । पहिलो कुरा पानी पाउँदै पाउदैनथ्यो । केहीबेर आउने पानी थाप्न सार्वजनिक धारामा धेरै लामो गाग्रीको लाईन हुन्थ्यो । स्थानीयले हामी विद्यार्थीलाई हम्मेसी पानी थाप्न दिदैनथे । हाम्रो ५ लिटरको ग्यालिन हुन्थ्यो । ग्यालिन लाइनमा पनि राख्दैनथ्यौं । अहिले सम्झन्छु, लाईनमा राखेको भए पाइन्थ्यो होला । हराउला भन्ने पिरले त्यस्तो गर्दैनथ्यौं । धेरै बेर पालो कुरेपछि कोहि कोही दयालु निस्कन्थ्यो । लु थाप भन्थ्यो । अनि ५ लिटर पानी थापेर मनले धन्यवाद दिदै कोठा आउथ्यौं । हाम्रो कोठा चरिकोटेको घरमा थियो । त्यो घर स्थानीय विकास अधिकारीको निवाससँग जोडिएको थियो । कहिलेकाहीं पानीको चिन्ताले हामी स्थानीय विकास अधिकारीको टंकी तिर एकोहोरो हेर्दै बस्थ्यौं । सहह्रदयी रविन्द्र हायु दाईले स्थानीय विकास अधिकारीको आँखा छलेर ग्यालिन कम्पाउण्ड वालबाट लिन्थे र पानी भरेर दिन्थे ।

पानी र सामल भएपनि रामेछापमा आगो फुक्नै हम्मे हुन्थ्यो । वादिगाउं तीरबाट दिनहुं दाउराको भारी बोक्ने लाम रामेछाप बजार आउँथ्यो । दाउरा बेच्ने अनि आफूलाई आवश्यकताको सामान किनेर घर फिर्ने त्यस क्षेत्रका बासिन्दाको पेशा थियो । वादीबाट आउने दाउरा भारीको २० रुपैयाँ पर्दथ्यो । तर असाध्यै कांचो हुने । सुकेको दाउरा त एकादुई मात्र हुन्थ्यो । काँचो दाउरा माटोको चुलोमा कोच्यो , बाल्न मुस्किल, बलिहालेमा धुवाँको मुस्लो । च्वाइँच्वाइँ गर्र्थे दाउरा । अलिपछि स्टोभ किनियो । स्टोभ भएपछि पकाउन सजिलो भयो । त्यतिबेला स्टोभ किन्ने भनेको ठुलै कुरा जस्तो लाग्थ्यो ।
त्यहि आगो बाल्नको पीरले हामीले अनौठो काइदा निकालेका थियौं । दाल पकाउनका लागि । घरबाट मासको दाल पिठो बनाएर लैजाने । पानी उम्लियो कि दाल पाक्यो । कस्तो काइदा । घिउ हाल्यो , दालको झोलसँग स्वाप्प स्वाप्प । तरकारी हम्मेसी हँुदैनथ्यो । एकथरी त हो । तरकारी पकाए, दाल हुदैनथ्यो ।

पानीको लागि एउटा किस्सा छ । म पुरोहितको छोरो । भर्खर व्रतबन्ध गरेको थियो । बिहान जप नगरी खादैनथे । जप गर्ने भएपछि जनै लगाउने नै भएँ । कोठामा बस्ने साथीको जनै त थियो तर उ जप गर्दैनथ्यो । म रांगो र बंगुरको मासु खाँदैनथे । अहिले पनि खान्न । तर साथीहरु खान्थे । उनीहरु मध्ये केही रक्सी पनि भ्याईदिन्थे ।

एकदिन म बेलुका खाना खाएर सुतें । कोठाको साथी कतै गएको थियो । राती अबेर कतिबेर आएछ । उ सगैं अरु पनि कोही आयो होला । जथाभावी नखाने र जप गर्नुपर्ने भन्दै उनीहरुले म निदाएको बेला जनै काटिदिएछन् । लु गर अब जप भनेर । बिहान उठेर जप गर्न खोज्छु, जनै छैन् । व्रतबन्ध गरेपछि बा ले एउटा कुरा भन्नुभएको थियो, केहीगरी जनै छिन्यो भने नबोलिकन, नुहाएर नयाँ जनै लगाउनु अनि मात्र बोल्नु । परेन फसाद ? जनै छैन । के भयो है ? भन्न पनि मिलेन । सानले कुरा गर्छु अरु साथी हाँस्छन् मात्र । रुन मन लाग्यो । एकछिन रोएँ पनि । अब जनै कहाँ खोज्नु ? । बजार नजिकै थियो । गएँ । तिलक श्रेष्ठको पसलमा पुगें । जनै माग्छु, उनी कुरा बुझ्दैनन् । अनि हातले जप गर्ने संकेत गरें । काँध देखाएर भिर्ने भनें । त्यति गर्दा उनले बुझें । जनै त ल्याँए, अब नुहाउनु कसरी ? पानी छैन ।

५ लिटरको जर्किन, धोति बोकेर व्यारेक भन्दा तल ढुंंगेधारा तिर झरें । त्यहाँ पुग्न ओरालो झण्डै १० मिनेट लाथ्यो । त्यहाँ पुग्दा पानीको लाइन उत्तिकै थियो । नुहाउन के पाउनु ? एकछिन अकमक्क परें । त्यसभन्दा अरु पानी वरिपरी मैले देखेको थिइँन । रामेछाप बजारका होटलहरुले त्यहींबाट टिनको २० रुयैयाँमा पानी बोकाउँथे । त्यहाँ पानीको लाइनमा बसेका एकजनाले मलाई बोलाए, म बोलिन । मैले हातमा जनै देखाएर फेर्नका लागि नुहाउन आएको भन्ने संकेत गरें । उनले त्यसो भए तल खोला तिर जाउँ त्यहा पानी पाइन्छ होला भने । म उनको कुरा सुनेपछि अझै तल झरें । नभन्दै खोलामा सानो पानी रहेछ । त्यहाँ नुहाएँ, जनै फेरें । ५ लिटरको जर्किनमा पानी भरें ।

अनि उकालो लागें । कोठामा आउँदा साथीहरु स्कुल गइसकेका रहेछन् । मैले स्कुल जान भ्याइन । दिनभर त्यसै बसें । बेलुका आएपछि उनीहरुले पश्चाताप गरे । हामीले तँ हामीजस्तै जनै नलगाएर पनि बस्न सक्छस् भन्ने लागेर जिस्किएर काटिदिएका हौं । तर धेरै ठुलो पाप गरौं, अब आइन्दा हामीबाट त्यस्तो हुँदैन भने । मैले काट्यो चाँही कस्ले ? भने । तर उनीहरुले उत्तर दिएनन् । भैगो अब किन ? हाँसेरै टारें ।

आजभोली पनि अक्सर म जनैं छुटाउँदिन । तर छिनिहाल्यो भने नबोलेर बस्न पनि सक्दिन । बोल्छु । अहिले जप पनि गरिदैन । तर एउटा कुरा नि, त्यो बेला मेरो जनै काट्ने साथी को होला ? भन्ने तर्कना मनमा आईरहन्छ भन्या ।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको