काठमाडौँ – सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी सम्पन्न भएको छ । राष्ट्रिय फोटो पत्रकार समुह, नेपाल (एनएफपिजे)ले २५ औं रजत महोत्सवको अवसरमा बिहिबारदेखि तीन दिनसम्म चलेको फोटो प्रदर्शनी शनिबार लगन टोलबाट सकिएको हो ।
प्रदर्शनी रथयात्राकाे प्रमुख विश्राम स्थलमा पहिलो दिन असन, दोस्रो दिन हनुमानढोका तथा तेस्रो दिन लगन टोलमा राखिएको थियो ।
राष्ट्रिय फोटो पत्रकार समुह, नेपालले संयोजन गरेको उक्त प्रदर्शनीकाे आयोजक सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति रहेकाे थियो भने काठमाडौँ महानगरपालिका वडा नं. १७, २१, २५ ,२७ र २८ सहयाेग रहेको छ।
प्रदर्शनीमा करिब ३० व्यवसायिक फोटोपत्रकार तथा अन्य फोटोग्राफरहरूले खिचेका ५० भन्दाबढी फोटोहरू राखिएका छन् । रथयात्रा मात्रै नभएर सेतो मच्छिन्द्रनाथ जात्रा अन्य विभिन्न पक्ष , प्रकियासँग सम्बन्धित छ, सो बारे जनमानसमा जानकारी दिनु यो प्रदर्शनीकाे मुख्य उद्देश्य रहेकाे कार्यक्रम संयोजक सुनिल शर्माले बताए।
हिन्दू तथा बौद्ध धर्मावलम्बीले संयुक्तरूपमा आस्था प्रकट गर्ने मच्छिन्द्रनाथको देवतालाई करुणाका प्रतीकका रूपमा सम्मान गरिन्छ । स्थानीय जनबहालस्थित मन्दिरमा रहेको मूर्तिलाई विधि विधानपूर्वक रथारोहण गरी भित्री सहरको परिक्रमा गराइने प्रचलन छ।