भक्तपुरको बिस्केट जात्रा इतिहासमै पहिलो पटक स्थगित

भक्तपुर – आजको दिन हरेक वर्ष पाँचतले र भैरवनाथ मन्दिर अगाडिको टौमढीमा हजारौँ मानिसको घुइँचो हुन्थ्यो । भैरवनाथका पुजारी भैल नाइके परम्परागत तान्त्रिक पूजाआजामा व्यस्त हुन्थे । गुठी संस्थान जात्रालाई समयमा शुरु गर्ने चटारो हुन्थ्यो ।

प्रहरी प्रशासनलाई जात्रा शान्तिपूर्णरुपमा सम्पन्न गर्ने तीन जिल्लाका सयौँ प्रहरी थुपार्दै जात्रा भड्किलो भन्ने चिन्ता र तयारीमा हुन्थे । बिहानैदेखि भैरवनाथको दर्शन गर्ने सर्वसाधारणको भीड हुन्थ्यो । घरघरमा बिस्केटको भोज हुन्थ्यो । पाहुनाले हरेकका घरमा रौनकता छाउथ्यो । स्वदेशी र विदेशी जात्रा हेर्न आउनेको उत्तिकै घुइँचो हुन्थ्यो ।

काठैकाठले निर्माण गरी तीनतले प्यागोडा शैलीको सिंगारिएको रथमा तलेजुको खड्ग ल्याएपछि गुठी संस्थानको पूजा सम्पन्न गर्दै हरेकका घरघरबाट पूजा ल्याएर आकाश भैरवलाई रथमा विराजमान गराई हजारौं मानिसको भीडले ‘होस्से–हैसे’ भन्दै रथ तान्ने पाँचतले र भैरव मन्दिर अगाडिको टौमढी कोरोनाको कहरले आज सुनसान छ । रौनकता हराएको सुनसान शहर झैं भएको छ । न त यहाँ कसैको घरमा पाहुना छन् न त भोज नै ।

कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले लकडाउन गरिरहेकै अवस्थामा टौमढीमा भैरव र भद्रकालीको रथ निर्माण बीचमै छाडेपछि बनिसकेका रथका दुई पाङ्ग्रा र निर्माण हुँदै गरेका रथका केही भाग यत्रतत्र छरिएका छन् ।

देशमा जस्तोसुकै सङ्कट आउँदा नरोकिएको हजारौँ वर्ष पुरानो ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्केट जात्रा यस वर्ष विश्वमहामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण इतिहासमै पहिलोपटक रोकिएपछि सिङ्गो जात्राको रौनकता औपचारिक पूजामा मात्रै सीमित बन्न पुगेको छ ।

नयाँ वर्षको आगमनसँगै आठरात नौ दिनसम्म भव्यरुपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको भक्तपुरको विश्वप्रसिद्ध बिस्केट जात्राको पहिलो दिन आज विश्वनाथ भैरव अर्थात् आकाश भैरवका पुजारी तथा नाइकेबाट तान्त्रिक एवं औपचारिक पूजा गरेर मात्रै जात्रा शुरु गरिएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्य बताउँछन् ।

भक्तपुरको बिस्का जात्राको प्रमुख आकर्षण जात्राको शुरु आजको दिन र वैशाख ५ गते अन्तिम दिन भैरवको रथ तानातान गर्ने, चैत्र मसान्तको साँझ भेलुखेलस्थित ल्यासिंखेलमा ५५ हात लामो दुई वटा विश्वध्वजा र अष्टमात्रिका अङ्कित आठ वटा डोरीसहितको लिङ्गो उठाउने, वैशाख १ गते साँझ लिङ्गो ढाल्ने हजारौंको भीडमा हुने मुख्य आकर्षक जात्रा हुन् ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा पटकपटक बसेको सरोकारवालाको बैठकले यस वर्षको जात्रालाई औपचारिक पूजामा सीमित गर्ने निर्णय गरेको थियो । बिस्काः जात्रामा हुने अन्य जात्रा टोलटोलमा हुने ब्रम्हायणी, महेश्वरी, इन्द्रायणी, महाकाली, बाराही, छुमा गणेश, याछें गणेश, (लालाछे) गणेश, इन्द्रायणी भजन, जेठा गणेश लगायतका देवतालाई गुठीयारले द्योँछे (देवता घर) मै राखेर पूजा गरेर मनाउन शुरु गरिएको छ ।

अनेकौँ कथा, किंवदन्ती, किस्सा, धार्मिक, सांस्कृतिक पक्ष जोडिएको बिस्का जात्राको मूलमन्त्र देशवासीलाई महामारी, विपदबाट जोगाउने र देशवासीको रक्षा गर्ने, सहकाल, शत्रुनाश हुने विश्वास रहेकाले महामारी रोक्नकै लागि जात्रा रोकिँदा कुनै अनिष्ट नहुने इतिहासविद् एवं संस्कृतविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।

जात्राको मुख्य देवता विश्वनाथ भैरव भएको र सारा मानवजाति, सारा विश्वकै हित चाहने देवताको जात्रा रोकिँदा अनिष्ट हुँदैन भन्दै उनले भैल नाइके, तलेजुको ब्राह्मण, जोशी, कर्माचार्यले गर्ने मुख्य पूजा नरोकिने भएकाले अनिष्ट हुन्छ भन्ने भ्रम पाल्न नहुने बताए ।

नेपाल संवत् ५०० को तमसुकपत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रुपमा बिसिक शब्द उल्लेख भएको, भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको, भक्तपुरको राजदरबारमा नेपाल संवत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द रहेको, तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको सङ्कल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिने यो जात्रा अनकौँ कालखण्डमा विसिक, बिस्क, बिस्का हुँदै बिस्केट हुन पुगेको प्रा डा श्रेष्ठले बताए ।रासस

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको