काठमाडौ – नेपाल वित्तीय संस्था कर्मचारी संघ ( फियन ) ले विभिन्न वित्तीय संस्थामा कार्यरत कर्मचारीले ५० लाख बराबरको बिमा पाउनु पर्ने माग गरेका छन् । फियनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाईरस महामारीको अवस्थामा समेत जनताको सेवामा समर्पित कर्मचारी कोरोनाकै कारण मृत्यु भएमा आश्रीत परिवारले ५० लाख बराबरको राहत पाउनु पर्ने र निजले संस्थामा तिर्नु पर्ने सम्पुर्ण कर्जा मिनाहा हुनु पर्ने माग गरेका हुन् ।
विज्ञप्तिमा, कुनै कर्मचारी काममा खटिरहेको बेला कोरोना भाईरसबाट संक्रमित भएमा तत्काल स्वास्थ्य उपचार हुनु पर्ने र सम्पूर्ण खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्नुपर्ने,सरकारले तोकेको मापदण्ड अनुरुप सुरक्षित तरिकाले काम गर्ने वातावरण मिलाउनु पर्ने, पिपिईको व्यवस्था गर्नु पर्ने, रोजगारदाताले सवारी साधनको व्यवस्था गर्नु पर्ने,प्रकोप नियन्त्रण पश्चात संस्थाले प्रोत्साहन भत्ताको साथै ग्रेड वृद्धि ,पुरस्कार र वैदेशिक तालीमको अवसर दिनु पर्ने, बिमक,सर्भेयर र बिमा अभिकर्ताको बिलम्ब शुल्क नलाग्ने गरि नविकरण समय थप्नु पर्ने, जिवन बिमाको हकमा बिमितले तिर्नु पर्ने बिमा शुल्क तथा बिमालेखको धितोपत्र लिइएको कर्जामा लाग्ने व्याज रकम ०७७ आषाढ मसान्तसम्मको मिनाहा गर्नु पर्ने माग गरेका छन् ।
यसैगरी लकडाउन अवधीसम्म बिमालेखको समयावधि बढाउनु पर्ने,विषम परिस्थितिलाई दोष दिई कुनै पनि कर्मचारीलाई हटाउन नपाउने यदि हटाएमा कडा प्रतिरोध हुने, निम्न आय भएका श्रमिक र नागरिकलाई लकडाउनको समयमा न्युनतम गासको व्यवस्था गर्नु पर्ने, लकडाउनको कारण आर्थिक मन्दी भई रोजगारी गुम्ने र विप्रेषणमा ठुलो गिरावट हुने हुँदा वित्तीय क्षेत्रमा हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न सम्बन्धित निकायले प्रभावकारी राहत प्याकेज र उपयुक्त कदम चाल्नु पर्ने उल्लेख गरेका छन् ।
