सर्लाही- सर्लाही जिल्लाको बागमती नगरपालिका वडा नं. ४ र १२ मा मानव निर्मित भरत ताल स्वदेशी तथा विदेशी पर्यटकको पहिलो रोजाइ बन्दै गएको छ। बोटिङ गर्न, पिकनिङ मनाउन र रमाइलो गर्नका लागि भरत ताल पहिलो रोजाइमा पर्ने गरेको छ। पछिल्ला दिनमा छिमेकी भारतबाट समेत यहाँ ठूलो संख्यामा पर्यटक आउने गरेका छन्।

१ सय २१ बिघामा फैलिएको तालमा बोटिङ गर्न र पिकनिक मनाउनका लागि दैनिक हजारौं पर्यटक आउने गरेका छन्। अहिले तालमा फोटो खिच्ने, टिकटक बनाउने, बोटमा यात्रा गर्ने तथा ताललाई नजिकबाट नियाँल्दै खाजा खाने, साथीभाइ भेट्ने तथा रमाइलो गर्ने पर्यटकको सङ्ख्या बढिरहेको छ।

ताल बनेपछि अहिले सर्लाही आसपासका जिल्ला तथा भारतका बिहार प्रान्तका सयौं पर्यटकहरू बिदा मनाउन बागमती आउने गरेका छन्। लेक साइडको अनुभूति दिने भरत ताल बनेपछि पर्यटकहरू रमाएर जाने गरेको स्थानीयहरू बताउँछन्।

चुरे पर्वतको फेदी र सधैं बगिरहने बागमती नदीको किनारमा अवस्थित भरत ताल अहिले जिल्लाको मात्रै नभई मधेस प्रदेशकै पहिचानको रूपमा स्थापित भएको छ। प्रकृतिको काखमा अवस्थित मानव निर्मित ताल झट्ट हेर्दा समुद्रको अनुभूति दिलाउने गरेको छ।

हावाको बेगसँगै छल्किने तालको पानी, नजिकैबाट देखिने हरिया चुरे पर्वत र तालको छेउ भएर निरन्तर कलकल गर्दै बगिरहेको बागमती नदीको पानीको आवाजले अझै पर्यटकलाई लोभ्याउने गरेको छ। तालमा अहिले जेटबोट, मोटरबोट र मिनी क्रुज सञ्चालनमा छन् ।


