काठमाडौं – सर्वोच्च अदालतले पैदल हिँडेर घर गइरहेका सर्वसाधारणलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउन आदेश दिएको छ ।
न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले शुक्रबार सुरक्षालगायतका व्यवस्था अवलम्बन गर्दै प्राथमिकताका साथ सवारी–साधनको व्यवस्था गरी निःशुल्करुपमा गन्तव्यमा पुर्याउन आदेश दिएको हो ।
‘लकडाउन’का कारण बाध्यतामा परी हाल काठमाडौं र अन्य सहरहरुबाट आ–आफ्नो गाउँतर्फ पैदल गइरहेकाहरुलाई सुरक्षितसुरुमा गन्तव्यमा पुर्याइदिनु राज्यको दायित्व भएको आदेशमा उल्लेख छ ।
स्थानीय तहमा रहेका स्वास्थ्य टोलीहरुलाई परिचालन गरी उनीहरुको स्वास्थ्य परीक्षण गर्ने र संक्रमण देखिए ‘क्वारेन्टाइन’, ‘आइसोलेसन’ र उपचारको व्यवस्था गर्दै गन्तव्यमा पुर्याउनु ती वर्ग तथा समूहका व्यक्ति र वृहत् समाजका लागि पनि हितकारी हुने सर्वोच्चको आदेशमा उल्लेख छ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, शारीरिक अशक्त व्यक्तिहरुको विशेष सुरक्षा गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।
