काठमाडौँ – एनएफपीजे हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मानको पुरस्कार वितरण गरिएको छ। राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको २६औँ वार्षिकोत्सवको अवसरमा प्रधानको नामबाट स्थापित ५ विधाको उक्त सम्मान प्रदान गरिएको हो।
साहसिक फोटो पत्रकारिता पुरस्कार अन्तर्गत कल्पना महर्जन, संस्कृति सम्पदा पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका रत्न कृष्ण श्रेष्ठ, मनोरञ्जन फोटो पत्रकारिता पुरस्कारतर्फ ह्याप्पी पोखरा डटकमका सुरेशकुमार श्रेष्ठ, खेल पत्रकारिता पुरस्कारतर्फ नेपाल स्पोर्टस् डटकमका विजय महर्जन र पर्यापर्यटन फोटो पत्रकारिता पुरस्कारतर्फ टुमेल डटकमका रिजम अम्बी तोलाङले पाए । पर्यापर्यटन विधामा गत वर्ष पुरस्कार पाए पनि अनुपस्थित रहेका नारायण सिलवालले यसै कार्यक्रममा गत वर्षको पुरस्कार बुझे ।

पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना गरेको ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता सम्मान’ मुकुन्द कालिकाटेलाई प्रदान गरियो ।
यसै वर्षदेखि एनएफपीजेले ‘प्रेसिडेन्ट अवार्ड’समेत दिन थालेको छ । अध्यक्षको स्वविवेकले दिने भनिएको यस वर्षको अवार्ड एनएफपीजेकै कोषाध्यक्ष सागर श्रेष्ठले पाए ।
कार्यक्रममा बोल्दै वन तथा वातावरणमन्त्री महतोले फोटो पत्रकारहरू मुलुक समृद्धिको अंग भएको बताए । समाजलाई सुसूचित गराउन फोटो पत्रकारहरूको महत्त्वपूर्ण भूमिका हुने उनको भनाइ थियो । ‘केही साथीहरूले ज्यानकै बाजी राखेर फोटो खिचेको पनि देखेको छु । ती फोटोले हाम्रो देशको संस्कृति, सभ्यता देखाएका छन् । अन्तर्राष्ट्रिय स्तरमा नेपालमा भएका चिजहरूलाई उजागर गरेको छ । पर्यटक भित्र्याउन महत्त्वपूर्ण भूमिका निभाएको छ’, उनले भने ।
कार्यक्रमका विशिष्ट सांसद रामहरि खतिवडाले फोटो पत्रकारितामार्फत खबरदारी सधैं अपेक्षा गरेको बताए । खतिवडाले नेताको घण्टौं लामो भाषणभन्दा फोटो पत्रकारको एउटै फोटोले सशक्त कथा भन्ने बताए । नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक दीपककुमार अधिकारीले फोटो पत्रकारिताले आलोचनात्मक खबरदारी गर्नुपर्नेमा जोड दिए ।


