काठमाडौं – नेपाल प्रेस युनियन काठमाडौं शाखाले विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार र क्यामेराम्यानहरुका लागि मास्क र प्रेस ज्याकेट उपलब्ध गराएको छ । शनिबार सञ्चारगृहमै पुगेर शाखाका अध्यक्ष जगन्नाथ दुलालले सो सामाग्री हस्तान्तरण गरेका हुन् । विशेषगरि रिपोर्टिङमा जाँदा टेलिभिजनका क्यामेरापर्सन र फोटो पत्रकार बढी जोखिममा रहेको भन्दै शाखाले विशेष प्रकारको मास्क उपलब्ध गराएको हो ।
एपीवान टेलिभिजन,प्राइम टिभी, एभिन्यूज टेलिभिजन,योहो टिभी,सरोकार टेलिभिजनमा मास्क उपलब्ध गराइएको हो । त्यस्तै, विभिन्न दैनिक पत्रिकामा कार्यरत फोटोग्राफरका लागि पनि प्रेस युनियनले मास्क र प्रेस ज्याकेट उपलब्ध गराएको अध्यक्ष जगन्नाथ दुलालले जानकारी दिए । नेपाली जनसम्पर्क समिति जर्मनीले कांग्रेस नेता प्रकाशमान सिंहमार्फत प्रेस युनियन काठमाडौं शाखालाई उपलब्ध गराएको हो ।
अहिलेको संकटपूर्ण अवस्थामा पनि कार्यालयमै आएर सहयोगप्रति एपीवान टिभिका सम्पादक टिकाराम यात्री, प्राइम टिभिका रिसि धमला र योहो टीभीका अध्यक्ष आङकाजी शेर्पाले आभार व्यक्त गरेका थिए । युनियनले यसअघि पनि एक सय थान प्रेस ज्याकेट र ३८ जना सञ्चारकर्मीलाई खाद्यानन सहयोग गरेको थियो ।


