सरकारी सेवामा रहँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध विशेष अदालतमा बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०४६ साल असार ३० गते सरकारी सेवा प्रवेश गरेका रानाभाटले २०७९ साल कात्तिक ६ गतेसम्म ३ करोड १५ लाख ८१ हजार २०६६ रुपैयाँ ८० पैसा भ्रष्टाचार गरेको अख्तियारले दाबी गरेको छ । अख्तियारले सो रकमबराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

रानाभाटले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती राधा रानाभाटसमेतको नाममा जग्गाहरू खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खाताहरूमा रकम मौज्दात गरेको भन्दै राधाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले रामबहादुरविरुद्ध ३ करोड १५ लाख ८१ हजार ०६६ रुपैयाँ ८० पैसा बिगो दाबी गरी मुद्दा दायर गरेको हो भने राधाविरुद्ध बिगो दाबी गरिएको छैन । उनीसँग रहेको गैरकानुनी सम्पत्ति जफत प्रायोजनका लागि मात्र मुज्ञा दायर गरेको हो ।

प्रेस विज्ञप्ति
जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, लमही, दाङका इन्जिनियर रामबहादुर रानाभाटले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज राम बहादुर रानाभाटले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६/०३/३० देखि मिति २०७९।०७।०६ सम्मको समग्र आय (आम्दानी) तथा ब्यय (खर्च तथा लगानी) को बिश्लेषण गर्दा निजले जाँच अवधिको दौरान गरेको खर्च, लगानी तथा सम्पत्ति आर्जनमा रु.३,१५,८१,०६६।८० (तीन करोड पन्ध्र लाख एकासी हजार छैसठ्ठी रूपैंया असी पैसा) बराबरको सम्पत्तिको स्रोत नखुलेको साथै निज र निजको परिवारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको¸ आफ्नो हैसियतभन्दा बढी रकम बराबरको आफ्नो र परिवारको नाममा बिभिन्न कम्पनीको शेयर खरिद, जग्गा खरिद, अध्ययन खर्च, घर निर्माण तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गरेको देखिँदा निजले माथि उल्लेख भएबमोजिम रु.३,१५,८१,०६६।८० (तीन करोड पन्ध्र लाख एकासी हजार छैसठ्ठी रूपैंया असी पैसा) बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएकोले निज राम बहादुर रानाभाटले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको हुँदा निजलाई विगो रु.३,१५,८१,०६६।८० (तीन करोड पन्ध्र लाख एकासी हजार छैसठ्ठी रूपैंया असी पैसा) कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ग, दफा ३ र दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम विगो बमोजिम जरीवाना र कैद सजाय हुन एवं निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख बमोजिम लागत मुल्यमा बिगो जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ।

साथै राम बहादुर रानाभाटले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति श्रीमती राधा रानाभाटसमेतको नाममा जग्गाहरु खरिद, घर निर्माण, शेयर खरिद तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्च लागत मूल्य वरावरको भागको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम बिगो जफत गर्ने प्रयोजनको लागि राधा रानाभाटलाई प्रतिवादी कायम गर्ने साथै निज प्रतिवादी राधा रानाभाटको नाममा रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र आंशिक स्रोत खुलेको सम्पत्तिबाट बिगो जफत गरी पाउन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here