काठमाडौं – प्रहरी नायब महानिरीक्षक-डीआइजीमा बढुवा भएका १० प्रहरी अधिकारीले सोमबार दर्ज्यानी चिन्ह लगाएका छन्। बढुवा समितिले गरेको सिफारिसविरुद्ध कसैविरुद्ध पनि उजुरी नपरेपछि गृहमन्त्री रामबहादुर थापाको आइतबारको निर्णयले १० जना वरिष्ट प्रहरी उपरिक्षक-एसएसपी डीआईजीमा बढुवा भएका थिए।
डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धिरज प्रताप सिंह, बसन्त कुमार लामा, रबिन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी र अरुण कुमार बिसीले दर्जाको फुली लगाएका हुन्। दर्ज्यानी चिन्ह लगाई दिएपछि महानिरिक्षक-आईजी ठाकुर प्रसाद ज्ञवालीले प्रहरीको प्रदेशमा समायोजन हुने महत्वपुर्ण काम बाँकी रहेकाले त्यसमा संगठनका नीतिहरु पुरा गर्ने, आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षताको प्रदर्शन गर्न डीआईजीहरुलाई निर्देशन दिए।
विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) को कारण सिर्जना भएको विषम परिस्थितिमा खटिएका प्रहरी अधिकृत तथा जवानहरुको सुरक्षा, स्वास्थ्य संवेदनशिलताका लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन तथा त्यसको सही प्रयोग, सुरक्षाकर्मीहरुको परिचालनतर्फ संवेदनशील भएर अगाडि बढ्न प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो । साथै यस बिषम परिस्थितिमा हुन सक्ने कालोबजारी, सामाजिक द्वन्व्ब भड्काउने खालका गतिविधि तथा समाजलाई भ्रमित पार्ने अफवाह जस्ता गतिविधि नियन्त्रणमा थप सक्रिय तथा संवेदनशील भई कार्य गर्न समेत निर्देशन दिएका छन् ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले संगठनले अंगिकार गरेका नीतिहरु एवम् आफूले प्राप्त गर्ने जिम्मेवारीलाई व्यवसायिक निष्ठा, क्षमता, पारदर्शिता एवम् इमान्दारिताका साथ पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
