प्रधानमन्त्री प्रचण्डको परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई परराष्ट्र सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्री दियो ।
सापकोटा प्रचण्डसँगै चीन भ्रमणमा गएका थिए। सापकोटाले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पीएचडी गरेका छन्।
रूपक पूर्वसभामुख तथा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाका छोरा हुन्। उनी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय पढाउँछन्। साथै उनी त्यहाँको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषय समिति सदस्य पनि हुन्।
माओवादी सशस्त्र युद्धकै पृष्ठभूमिबाट आएका सापकोटा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएपछि अध्ययनका लागि चीन गएका थिए । उनी चीनबाट फर्केपछि निरन्तर परराष्ट्र मामिलाको विषयमा अध्ययन अनुसन्धान गर्दै आएका छन् ।
अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनलाई परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशक बनाइएको थियो ।
अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा उनीसँग गहिरो ज्ञान रहेको छ । सापकोटाले सन् २०१९, नोभेम्बर देखि सन् २०२१ अक्टोबरसम्म नेपाल सरकारको महत्वपूर्ण थिंकटयांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
डा सापकोटाका भूराजनीतिक, वैदेशिक तथा सामारिक मामिलामा थुप्रै लेख रचना प्रकाशित छन् । उनले थुपै पुस्तक सहलेखन र सम्पादन पनि गरेका छन् । साथै, उनका थुप्रै प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धनात्मक लेखहरू पनि प्रकाशित भएका छन् ।
डा सापकोटाले सन् २०१८मा चीनको बेइजिङस्थित प्रसिद्ध विश्वविद्यालय, रनमिन विश्वविद्यालयवाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधि हासिल गरेका थिए ।सापकोटामा विश्वका विभिन्न विश्वविद्यालयमा सिनियर स्कलर तथा रिर्सच फेलोका रूपमा पनि काम गरेको अनुभव रहेको छ । उनी चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन् ।