काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाइ दिएका छन् । मंगलबार ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको टीका सर्वसाधारणलाइ लगाइ दिएका हुन् ।
पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणहरुको भीड लागेको थियो । पूर्वराजा शाहले हरेक वर्ष वडा दशैंको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन्
दुर्गापक्षको मुख्य दिन मंगलबार मान्यजनको हातबाट नवदुर्गाको प्रसाद ग्रहण गर्नुअघि विधिपूर्वक नौ दिनसम्म नवदुर्गाको आह्वान गरी पूजा आराधना गरिएको दशैं घर वा पूजा कोठामा देवी विसर्जन गरिन्छ ।
आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीकाका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतिकको रुप मानेर लगाउने गरिन्छ । त्रेता युगमा आजकै दिन भगवान रामले असत्यको प्रतिक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।
आज असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रूपमा मनाइने विजयादशमी (बडा दशैँ) को सबैभन्दा महत्वपूर्ण दिन हो । आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, पिता, माता, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट यश, ऐश्वर्य वृद्धि एवं दीर्घायु प्राप्त होस् भनेर आशिर्वाद लिइन्छ ।