काठमाडौं – आश्विन शुक्ल पक्षको एकादशी, बडादशैँको टीका लगाउने क्रम बुधबार पनि जारी छ। आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ ।
नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनहरुसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् ।
घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। टाढा रहेका बन्धु, मावली र ससुरालीकहाँ टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ।
आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ।
यसैगरी आज आश्विन शुक्ल एकादशीलाई पापाङ्कुशा एकादशीका रूपमा मनाइँदैछ । आजको एकादशीका दिन व्रत बसे विगतमा जानी नजानी गरेका पापमा अंकुश लाग्ने धार्मिक विश्वास छ ।