लोपोन्मुख जाती राउटे समुदायका महामुखिया महिनबहादुर शाहीको निधन भएको छ। उनको आइतबार बिहान करिब ३ बजे ६६ वर्षको उमेरमा निधन भएको हो।
गुराँस गाउँपालिकाले प्रदान गरेको परिचयपत्रमा उनको जन्ममिति २०१४ भदौ ९ गते रहेको उल्लेख छ। राउटे समुदायले आफ्नो परम्परा अनुसार मृतक शाहीको अन्तिम दाहसंस्कार गरिसकेको सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनामार्फत बस्तीमा खटिएका शिक्षक लालबहादुर खत्रीले बताए।
राउटे बस्तीमा कार्यरत अधिकारीका अनुसार शाही केही समययता ढाड दुख्ने रोगबाट पीडित थिए। उनका १८ सन्तानमध्ये सबैको निधन भइसकेको छ। उनका श्रीमती र दुई बुहारी छन्।
१४२ जनाको जनसंख्या रहेको यो समुदायमा महामुखियाको निधन भएसँगै जनसंख्या १४१ पुगेको छ। फिरन्ते जीवनयापन गर्दै आएका उनीहरुको हाल भैरवी गाउँपालिका–३ छामघाट खोला नजिकै बसोबास छ। सोही वडाको कोइराल गाउँ आसपास बसोबास रहेका उनीहरु पाँच दिन अघिमात्रै बस्ती सरेका थिए।
