काठमाडौँ – तिहार पर्व सकिएसँगै छठ पर्वको रौनक शुरु भएको छ । विशेषतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । यो पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण यसका निम्ति आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन् ।
छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेशका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ ।
तराईका जिल्लामा छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको भिडभाड छ । खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, पानी सिङ्गडा, मुला र अदुवाको बोट पर्छन् । यतिबेला छठपर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनका लागि काम पनि धमाधम भइरहेका छन् ।