यतिबेला (शनिबार बिहान) काठमाडौँको मौसम आंशिक बदली (२६ देखि ५० प्रतिशतसम्म आकाश बादलले ढाकेको) मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौँ उपत्यकाको मौसम आज दिनभर यस्तै रहने अनुमान छ।
‘दिउँसोतिर घाम पनि देखिने सम्भावना छ’, उनले भने, ‘वर्षा वा हिमपातको सम्भावना छैन।’
उनका अनुसार अघि बिहान ७ बजेर ३६ मिनेट जाँदा काठमाडौँ उपत्यकाको तापक्रम १० डिग्री सेल्सियस देखिएको छ।
महाशाखाको बिहानी बुलेटिनका अनुसार दिउँसो पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
‘आजलाई वर्षाको सम्भावना भने देखिएको छैन’, मौसमविद् पुडासैनीले भने।
महाशाखाको बुलेटिनअनुसार राति पनि पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।