काठमाडौं – इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान आजदेखि शुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरु दिनमा निराहार बस्ने गर्दछन् । मुसलमानहरु बिहान ३.४३ बजेबाट बेलुका ६.३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी संवत् १४४० हो भने रमजान महिना नवौँ महिना हो ।
रमजान महिना मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास छ । दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु तथा जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान पर्वमा मुसलमानका पाँच आधार स्तम्भमा हज बाहेक सबै स्तम्भ पूरा हुने भएकोले महत्वपूर्ण पर्वका रुपमा मनाउने गर्दछन् । यो पर्वमा शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ भन्ने धार्मिक मान्यता छ ।
कुलतमा लागेका मानिस एक महिना इमान्दारीपूर्वक रोजा बस्न सक्यो भने चुरोट, खैनी, गुट्खा आदि पदार्थ खाने बानीमा परिवर्तन आउन सकिने जनविश्वास छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमान रोजा बस्नुलाई गर्व मान्दछन् । बालक, बिरामी, घातक रोग लागेका र गर्भवती महिलालाई भने रोजा बस्न अनिवार्य छैन् ।
यस्तै महामारीका रुपमा फैलिइरहेको कोभिड–१९ को संक्रमणबाट जोगीन र जोगाउन मुस्लिम धर्मगुरुहरुले रमजान महिनामा गरिने परम्परागत तथा धार्मिक कार्यहरु घरमै गर्न सबै मुस्लिमहरुलाई निर्देशन दिएका छन् । विभिन्न जिल्लाका मुस्लिम धर्मगुरु र मौलानाहरुले रोजाको बेला महिनाभरि गरिने सबै धार्मिक कार्यहरु घरमै गर्न निर्देशन दिएका हुन् । मुस्लिम आयोगका केन्द्रीय अध्यक्ष समिम मियाँ अन्सारीले पनि शुक्रवार आयोजित कोरोना ब्रिफिङका क्रममा घरभित्रै बसेर सबै परम्परागत तथा धार्मिक कार्यहरु गर्न अपिल गरेका हुन् ।
