काठमाडौं – प्रिमनसुनअन्तर्गत केही दिनदेखि जारी हावाहुरी/चट्याङसहितको वर्षा आइतबार र सोमबार अझ बढ्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज (शनिबार) वर्षा केही कम भए पनि पश्चिममा दिउँसाेपछि फेरि पानी पार्ने प्रणाली सक्रिय बन्ने संकेत देखिएकाले आइतबार र सोमबार हावाहुरी/मेघगर्जन/चट्याङसहित वर्षा अझ बढी हुने सम्भावना बढेकाे हाे।
अहिले पनि देशका केही ठाउँमा वर्षा भइरहेको उनले बताइन्। उनका अनुसार राति १–२ बजेदेखि प्रदेश १, २, ३ र ४ का विभिन्न स्थानमा वर्षा भइरहेको छ।
काठमाडौं उपत्यकाका पनि केही ठाउँमा वर्षा भइरहेको मौसमविद् बासीले बताइन्। ‘अहिले कोटेश्वर क्षेत्रमा चाहिँ पानी रोकिएको छ, तर अन्य केही स्थानमा अहिले पनि वर्षा भइरहेको छ,’ उनले शनिबार बिहान साढे ६ बजेतिर भनिन्।
प्रदेश १, २, ३ र ४ मा जारी वर्षा अझै २–३ घण्टा रहने सम्भावना रहेको उनले जानकारी दिइन्।
‘तर आज दिउँसो परिश्चम क्षेत्रमा बादल विकसित हुने संकेत देखिएको छ,’ मौसमविद् बासीले भनिन्, ‘त्यसकारण दिउँसो पुनः मौसम बदली भई पश्चिमका केही र पूर्वका थोरै स्थानमा हावाहुरी/चट्याङसहित वर्षा गराउने देखिएको छ।’
विशेषगरी यसले भोलि (आइतबार) र पर्सि (सोमबार) वर्षा र हावाहुरी अझ बढाउने सम्भावना देखिएकाे उनले बताइन्।