राहुल गुप्ता, बीरगंज – बीरगंजमा थप २ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५१ पुगेको छ।
बीरगंज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए।
यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको सहायक प्रजिअ बस्नेतले बताए।
सहायक प्रजिअ बस्नेतका अनुसार कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका बीरगंज महानगर वडा नम्बर १,२ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो। सो मध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ। जसमा दुई जनाका कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको हो।
ती मध्ये बीरगंज–३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगञ्जमा ल्याएको छ। उनी बीरगंज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन्।
अर्का बीरगंज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि अस्पताल ल्याइएको छ। उनलाई शंकास्पद ठानी सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो।
