एजेन्सी – उत्तर कोरियाका नेता किम जोङ उनको स्वास्थ्यबारे विभिन्न टीकाटिप्पणी भइरहेका बेला दक्षिण कोरियाले भने किम जीवित र स्वस्थ रहेको दाबी गरेको छ। किमको स्वास्थ्यबारे विभिन्न आशंका उत्पन्न भइरहेका बेला दक्षिण कोरियाले अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनलाई उक्त जानकारी गराएको हो।
उत्तर कोरियाको राज्य नियन्त्रित समाचारपत्र रोडोङ सिन्मुनका अनुसार उत्तर कोरियाको सामजियोङ सहरलाई पुनःसंरचना गरेकोमा आइतबारमात्र किमले मजदुरलाई धन्यवाद दिएका छन्।
‘हाम्रो सरकार यो कुरामा निश्चित छ,’ दक्षिण कोरियाका राष्ट्रपति मुन जोइ-इनका उच्च राजनीतिक सल्लाहकार मुन चुङ-इनले भने, ‘किम जोङ उन अझै जीवित र स्वस्थ छन्। अप्रिल १३ देखि उनी ओन्सान क्षेत्रमा बस्दै आएका छन्। कुनै पनि खालका शंकास्पद गतिविधि पत्ता लागेका छैनन्।’
अप्रिल १५ मा हजुरबुबाको जन्मोत्सव मनाउने कार्यक्रममा उनी अनुपस्थित भएपछि किमको स्वास्थ्यको बारेमा विभिन्न प्रश्नहरु उत्पन्न भएका छन्। उत्तर कोरियाको राज्य नियन्त्रित मिडियाका अनुसार पोलिटब्युरो मिटिङ किम उक्त कार्यक्रमभन्दा चार दिनअघि देखिएका थिए।
अमेरिकी अधिकारीलाई उद्धृत गर्दै सिएनएनले अघिल्लो साता शल्यक्रियापछि किमको स्वास्थ्य खतरापूर्ण अवस्थामा रहेको खबर बाहिर ल्याएको थियो। अर्का अमेरिकी अधिकारीले गत सोमबार सिएनएनसँग कुरा गर्दै किमको स्वास्थ्यमा समस्या आएको निश्चित भएको र कुन तहको जटिलता भन्ने थाहा हुन नसकेको जानकारी दिएका थिए।
उत्तर कोरियाको मामिलामा केन्द्रित दक्षिण कोरियाको अनलाइन मिडिया डेली एनकेले किमलाई कार्डियोभास्कुलर समस्या भएको जनाएको छ। किमले अत्यधिक चुरोट खाने, मोटोपना र अत्यधिक कामले गर्दा उक्त समस्या आएको उक्त मिडियाले उल्लेख गरेको छ। उक्त मिडियाका अनुसार उत्तर कोरियाको ग्रामीण इलाका हयाङसानमा रहेको एउटा भिल्लामा किमको उपचार भइरहेको छ।
उत्तर कोरियाको राज्य नियन्त्रित समाचारपत्र रोडोङ सिन्मुनका अनुसार उत्तर कोरियाको सामजियोङ सहरलाई पुनःसंरचना गरेकोमा आइतबारमात्र किमले मजदुरलाई धन्यवाद दिएका छन्। यद्यपि, यो रिपोेर्टको स्वतन्त्र पुष्टि भने भएको छैन। यो धन्यवाद नोट किम आफैंले दिएका हुन् या कोहीमार्फत् भन्ने निश्चित भएको छैन।
किमको स्वास्थबारे विभिन्न प्रश्न उठेपछि उत्तर कोरियाका मिडियाले यसअघि पनि किमको स्वास्थ्यबारे विभिन्न रिपोर्ट प्रकाशन गर्दै आएका छन्।
