रामेछाप- रामेछापको तामाकोशी किनारमा बसोबास गर्दै आएका माझी समुदायको पेशा लोप हुन थालेको छ । पेशा लोप हुन थालेपछि माझी समुदाय अन्य पेशामा पलायन हुने क्रम बढ्दो छ ।
पुस्तौदेखि कोशी किनारमा बसोवास गर्दै आएका माझी समुदायको पुर्ख्यौली पेशा कोशीमा डुङ्गा तार्ने र माछा मार्ने पेशा अहिले लोप हुन लागेपछि माझीहरु वैकल्पिक पेशातर्फ उन्मुख भएको मन्थली नगरपालिका १ का स्थानीय डिल्लीबहादुर माझीले बताए।

कोशीमा माछा मार्दै आएका माझीहरु पछिल्लो समयमा करेन्ट लगाएर अन्य मानिसहरुले माछा मार्न थालेपछि कोशीमा माछा पाउनै छाडेपछि उनीहरु माछा मार्ने पेशावाट पनि एकैसाथ विस्तापित हुन पुगेका हुन ।
माझी समुदायको मुख्य पेशा भनेको कोशीमा माछा मार्ने, डुङा तार्ने थियो । अहिले कोशीमा माछा पाईन छोडेको मन्थली ८ का गजविर माझीले दुखेसो पोखे। पहिला गर्दै आएको पेशा अब नहुने भएपछि सबैले नयाँ पेशाको खोजी गरेर काम सुरु उनले बताए ।

पछिल्लो समय जलवायु परिर्वतन सँगै एकातिर हिमालमा हिउँ पर्न छाड्नु, अर्कोतर्फ बर्षात कम हुँदा कोशीमा पानीको सतह कम हुन थालेपछि कोशीमा माछा कम हुँदै गएको माझीहरु बताउँछन् । त्यसैगरी कोशी किनारमा जताजतै इनार खन्नु, कोशीमा ठूलाठूला डोजर लगाएर वालुवा निकाल्ने, कोशीको धार परिवर्तन गर्ने गर्दा पानी धमिलो भएका कारण कोशीमा माछा कम हुँदै गएको र जालमा समेत माछा पर्न छाडे मन्थली गाइखुराका हर्क बहादुर माझीले बताए।
आफ्नो पुर्ख्यौली पेशा लोप हुने अवस्थामा पुग्दा पनि सरकारले केही गर्न नसकेको उनीहरुको गुनासो छ । स्थानीय सरकारले पुर्ख्यौली पेशा संरक्षणमा सहयोग गर्नुपर्ने उनीहरुको माग छ ।

