आमा याङ्ग्री धार्मिक र पर्यटकीय दुवै दृष्टिकोणले महत्वपूर्ण गन्तव्य हो । समुन्द्री सतहदेखि ३,७७१ मिटर उचाईमा अवस्थित यो सुन्दर पहाड र त्यसमाथि आमा ज्योमो यांग्री मन्दिरले मनै लोभ्याउँछ। काठमाडौंबाट झन्डै ९० किलोमिटर उत्तर–पश्चिम दिशामा पर्ने आमा याङ्ग्री ट्रेकलाई मनमोहक पदयात्राको रूपमा लिइन्छ । धार्मिक र ग्रामीण पर्यटनका कारण नेपालको पर्यटकीय क्षेत्रमा प्रख्यात हेलम्बु राजधानी काठमाडाैंबाट नजिकैको गन्तव्य हो।
चारैतिर हिमालै हिमालको लस्कार, तल्लो क्षेत्रमा देखिने गाउँवस्ती, जंगल र पहाडका टाकुराहरुको लोभलाग्दो दृश्यले सबैलाई मोहित पार्दछ । यहाँबाट लाङटाङ हिमशृंखला, जुगल हिमशृंखला, गौरीशंकर हिमशृंखला, दोर्जे लाक्पा, गणेश हिमाल, ग्याल्जेन पिक, याङ्ग्री हिमाल, भेमाथाङ हिमाल, गान्छेन्पो हिमाललगायतका दुई दर्जनभन्दा बढी हिमालको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । पदयात्रामा पर्यटकले ह्योल्मो कला–संस्कृति, भाषा, भेषभूषा र रहनसहनको पनि अवलोकन गर्न पाउँछन् ।
हेलम्बु प्राकृतिक र भौगोलिक रूपमा आकर्षक र नजिकको सजिलो पदयात्रा हो । यसका अतिरिक्त धार्मिक महत्व बोकेका प्राचीन गुम्बा, स्तुपा, मनमोहक झरना र विभिन्न वनजंगल पनि अवलोकन गर्न सकिन्छ । हेलम्बु भेगमा पल्चोकी भगवती माई पनि ठूलो धार्मिक आस्था रहेको स्थल हो । आमा याङ्ग्री हेलम्बु हेरिटेज ट्रेल (तल्लो हेलम्बु ट्रेक), माथिल्लो हेलम्बु ट्रेक र गन्जला पास ट्रेकको रुटमा पनि पर्दछ । नयाँखाङ हिमाल (गन्जला चुली), आमा बाङरिमा आरोहण गर्न जाँदा पनि यही बाटो हुँदै जान सकिन्छ ।
तस्वीर: रमिता छुँजु