काठमाडौं – जनबहाःद्यः (सेतो मच्छिन्द्रनाथ) को रथ जात्रा मंगलबारबाट सुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीको दिन रथजात्रा सुरु गर्ने गरिन्छ । जात्राको पहिलो दिन काठमाडौंको जमलस्थित तीनधारा पाठशाला क्षेत्रमा राखिएको रथलाई तानेर असन पुर्याइएको छ ।
यस्तै, वैशाख ५ गते साँझ ५ बजेदेखि असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनेछ भने ७ गते ४ बजेदेखि हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ।
त्यस्तै, वैशाख ८ गते साँझ ५ः३० देखि लगन, ज्याबहाल द्यः, यूतुननि, कोहिति, भिमसेनस्थान, मरू, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहालसम्म रथयात्रा हुने कार्यक्रम छ।
मच्छिन्द्रनाथको रथ लगन पुगेपछि यसको स्वागत गरी भोज खाने चलन रहेको व्यवस्थापन समितिले जनाएको छ । त्यस्तै जात्राको चौथो दिन रथलाई लगन आमा रुख परिक्रमा गराइन्छ । त्यस्तै बैशाख ८ गते विभिन्न स्थानमा खट जात्रा गरि जात्रा सम्पन्न गरिन्छ ।
मच्छिन्द्रनाथको राष्ट्रपतिले पनि दर्शन गर्ने प्रचलन छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको मानिन्छ । पानी, सहकाल र दिर्घजीवनको कामना गर्दै यो रथजात्रा निकाल्ने गरिन्छ ।