काठमाडौं- रातो मत्स्येन्द्रनाथको रथलाई आज लगनखेलमा पुर्याइएको छ । लगनखेल पुर्याएसंगै रथलाई दुई पटक घुमाइएको छ ।
नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मत्स्येन्द्रनाथको रथलाई बालकुमारी टोल चक्रबहिलनेरबाट लगनखेल पुर्याइएपछि राति रथअगाडि राँगा, बोका, जिउँदो माछा र हाँसको फुल बलि चढाएर महाबलि पूजा गरिन्छ ।
भोलि तानेर नरिवल खसाल्ने ठाउँ थती टोलतर्फ चलाउनु अघि रथलाई लगनखेलस्थित खरिबोटको दुईपटक परिक्रमा गराइन्छ ।

रथ थती टोलस्थित नरिवल खसाल्ने ठाउँ पुगेको भोलिपल्ट धान्यपूर्णिमामा पकाइने योमरी र ल्होंचामरीले रातो मत्स्येन्द्रनाथको अभिषेक गरेपछि पूजाअर्चना गरी रथको टुप्पोबाट नरिवल खसालिन्छ ।
नेपालमा १२ वर्षसम्म अनिकाल परेकाले वृष्टि गराउन भक्तपुरका राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र रथचक्र भनिने ललितपुरका ललित ज्यापूले भारत आसमको कामरुपकामाक्ष पर्वतबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको लोक कथन छ ।
नेपालको सर्वप्राचीन गोपाल राजवंशावलीमा पनि नरेन्द्रदेव र आचार्य बन्धुदत्तले मच्छिन्द्रनाथको यात्रा चलाए भन्ने उल्लेख छ ।


