दुवाकोट – भक्तपुरको दुवाकोटका नेवा: समुदायले शुक्रबार साँझ आगो बालेर गथामुग: पर्व मनाएका छन् । गबुँ गणेश टोल सुधार समाजले बारुदखाना चोकमा जम्मा भइ गथामुग: पर्व मनाएका हुन्। उनीहरुले पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनार दुवाकोट मोडमा पुर्याएर अन्त्येष्टि गरेका थिए ।
यो पर्व मनाएमा मानिसलाई विभिन्न रोग, व्याधि नलाग्ने विश्वास गरिन्छ । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गथामुग: लाई घण्टाकर्ण पर्व पनि भनिन्छ ।
गथामुगलाई बालबालिका मारेर खाने राक्षसको रूपमा चित्रण गरिएको पाइन्छ । समाजलाई दुःख दिने पात्रको रूपमा रहेको गथामुगलाई सोहीअनुसार दोबाटो र चौबाटोमा लगेर जलाउने गरिन्छ । जलाइसकेपछिको खरानीको टीका बालबालिकालाई लगाइदिने गरिन्छ । त्यसलाई नाघ्न लगाइन्छ । यसो गर्दा बालबालिकामा रहेको डर भाग्ने तथा रुन्चे लागेको हट्ने जनविश्वास छ।