काठमाडौं – भक्तपुरमा हुने धेरै नाचमध्ये प्रसिद्ध महाकाली नाच प्रदर्शन गरिएको छ । भक्तपुरस्थित मध्यपुर थिमीको बालकुमारी मन्दिर परिसरमा शुक्रबार राति महाकाली नाच देखाइएको हो । पहिले जनताले दुःख पाएको बेलामा भगवान स्वयम् प्रकट भएर जनतालाई सहयोग गर्न उत्पन्न भएको नाचको रुपमासमेत महाकाली नाचलाई लिने गरिन्छ ।
यो नाँच पनि जनैपूर्णिमाको भोलिपल्टदेखि सुरू गरिएको थियो । उक्त ऐतिहासिक नाचमा महाकाली, महालक्ष्मी, देवी, सिंहर दैत्य, भूत भैरव,कावाख्या तथा माक देवगण गरी विभिन्न देवीदेवतालाई नचाइएको थियो । जीव जिवात्माहरु एक आपसमा मिलेर बस्नुपर्छ भन्ने मान्यताका साथ उक्त नाच देखाइने गरिएको स्थानीयहरूको भनाइ छ ।
मध्यपुरथिमिको विभिन्न शहरमा यहाँका बासिन्दालाई दुःख दिने भूतप्रेत, पिसाचलगायतलाई तान्त्रिक विद्वान गुरुहरूले तान्त्रिक शक्तिद्वारा देवी देवतालाई रातभर जागा बनाइ टोलटोलमा देवीदेवताको नाच नचाएर भगाएपछि यो परम्परा चल्दै आएको छ ।