बर्खायामसंगै पहाडी तथा हिमाली क्षेत्रमा फूल्ने बुकी फूलले यतिबेला चौरहरू ढकमक्क भएका छन् । विशेष गरेर यस्ता फूल ढोरपाटन, शैलुङ, गोसाइकुण्ड लगायत पर्यटकीय क्षेत्रमा देख्न पाइन्छ।
हिजोआज यी ठाउँका फाँट र पाखा बुकी फुलेर रमणीय बनेका छन् । हिमाली क्षेत्रका चौरहरूमा फूल्ने भएकाले त्यस क्षेत्रमा फुल्ने फूललाई बुकीफूल भन्ने गरिन्छ ।
यहाँ ओठफुटे, काप्चुच्चे, दहिठेकी, दूधे, नाकेफुली, पुतली, प्याउली, फट्याङग्री, बिजौरी, बुकी (१), (२), (३), बोक्सी, मदाने र राके जस्ता फूलहरू देख्न सकिन्छ ।
यीबाहेक कप्टेरी, भुइँपाटी, बटारे, घोप्टे, अतिशलगायत अन्य फूल पनि बुकीको रुपमा देख्न सकिन्छ। साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्दछन् । वर्षातको समयमा मात्रै फुल्ने यी फूलहरू असोज लागेपछि आफैँ सुक्दै जाने छ ।