काठमाडौं- आज हरितालिका (तीज) पर्व महादेवको पूजा आराधना गरी मनाइँदैछ । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजाआजा गर्न भीड लागेको छ ।
यस पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै ब्रत बस्छन् । भाद्र शुक्ल तृतीयामा व्रत बसेर शिव-पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेवलाई पतिका रुपमा वरदान पाएको विश्वासमा यो ब्रत सुरु भएको पौराणिक मान्यता छ ।हरितालिका (तीज) पर्वको अवसरमा देशभरका शिवालयमा भक्तजनको घुँइचो छ।
भक्तपुरको दुवाकोटस्थित त्रिपुरासुन्दरी मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।