भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ७ नगदेशमा सामुहिक म्ह: पूजा सम्पन्न गरिएको छ। शनिबार ज्यापु महागुथि पूर्व लागा नगदेश, उपकार साकोस, थिमि र नृत्यनाथ बासुरी खल नगदेशको आयोजनामा सम्पन्न पूजामा ५२ जना स्थानीयहरुको सहभागीता रहेको थियो ।
पहिलो पटक सामुहिक रुपमा मनाइएको म्ह: पूजा गरिएको र अबका दिनमा हरेक बर्ष यसलाई निरन्तरता दिने पनि आयोजकले जनाएको छ।
नेपाल भाषामा म्हः को अर्थ शरीर हो । यस अर्थमा म्हः पूजाको अर्थ शरीर पूजा नै हो । कतिपयले यसलाई आत्मपूजाको रुपमा पनि लिने गर्छन् । हरेक वर्ष तिहारको गोवर्द्धन पूजाको दिन मनाइने म्ह: पूजा नेवार समुदायको विशेष पर्व हो ।
किम्वदन्तीअनुसार परापूर्वकालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।
तस्वीरहरू : घनश्याम श्रेष्ठ/ रमिता छुँजु/ अन्नपूर्ण टाइम्स