भक्तपुर – मध्यपुरथिमि नगरपालिकाले २६ वर्षपछि आयोजना गरेको तीनदिने ‘मध्यपुर महोत्सव’ मा अवलोकनकर्ताको घुइँचो लागेको छ। महोत्सवको आज दोस्रो दिन शङ्खधर साख्वाः चोकबाट बालकुमारी, चपाचो, बाहाखाबजारसम्म अवलोकन गर्न आउनेको घुइँचो लागेको हो।
योमरी, बारा, चटामरी, नेवारी खाजालगायत स्थानीय परिकारका स्थल राखिएका कक्षमा अवलोकनकर्ताको बढी उपस्थिति देखिन्थ्यो। महोत्सवमा आउनेहरूको आकर्षण अैँवला, छ्याङका साथै नेवारी परिकारका खानाका स्टलमा बढी देखिएको थियो।
महोत्सवमा एक सय पाँच ठाउँमा घरेलु उत्पादनका सामान, विभिन्न २५ प्रकारका नाचका साथै माटाका भाँडा बनाउने कला प्रदर्शनी, प्रत्येक पाटीपौवामा दाफाभजनलगायत कला, संस्कृति समावेश गरिएको छ।
थिमिमा २६ वटा सांस्कृतिक बाजागाजा, ५० पार्टीमा दाफाभजन, भगवान् गौतमबुद्धको अस्तुधातु, चपाचोको पाटी विहार र नगदेशको बुद्ध विहारमा प्रदर्शन, थिमि भैलः ताहननीको डमीसँग सेल्फी लिन सक्ने, जिब्रो छेड्ने जात्राको प्रतिमूर्ति प्रदर्शनमा छन्।
लिच्छवीकालदेखि हालसम्मको नेपाली मुद्रा र सिक्का, माटोको करिब पाँचसय फिट अग्लो सुकुन्दा, नेपालको पहिलो माटोको आशा हिटरको मौलिक ढोका, टिगनीमा टिकँबजी (चिउरा)को प्रदर्शनी, नगदेशमा सुनको झ्याल, बालकुमारीमा गेडागुडी, नेवारी संस्कृतिमा जन्मदेखि मृत्युसम्मका संस्कार र अन्य चाडपर्वमा उपयोग हुने भोजका परिकारलगायत सामग्री महोत्सवका मुख्य आकर्षणका रूपमा रहेका छन्।
तस्वीर: घनश्याम श्रेष्ठ/ शंकर भुजेल