जनकपुरको मिथिला बिहारी नगरपालिका-२ र ३ मा आयोजनामा लाटोकोसेरो तथा हुचिल उत्सवको १२औं संस्करण सुरु भएको छ। यो उत्सव दुई दिनसम्म चल्नेछ।
उत्सवमा चरा तथा प्रकृति अवलोकन, स्थानीय परम्परागत खेलकुद, सांस्कृतिक नृत्य तथा गीत प्रस्तुति, र लाटोकोसेरो संरक्षणसम्बन्धी नाटक मञ्चन प्रमुख आकर्षण रहनेछन्।
वनविज्ञान अध्ययन संस्थान, पोखराका विद्यार्थीहरूले लाटोकोसेरो संरक्षणसम्बन्धी नृत्य तथा नाटक प्रस्तुत गर्नेछन्। साथै, लाटोकोसेरोको जीवनशैलीबारे विस्तृत जानकारी प्रदान गर्ने फोटो प्रदर्शनी, आठ प्रकारका लाटोकोसेरोको आवाज सुन्ने तथा भिडियो हेर्ने व्यवस्था पनि गरिएको छ।
कार्यक्रमको विशेष आकर्षण भनेको एक फिट अग्लो लाटोकोसेरोको रोबोट हो, जसले उपस्थित दर्शकहरूलाई रोमाञ्चित तुल्याउने अपेक्षा गरिएको छ।
नेपालमा सन् २०१२ देखि मनाउन थालिएको यो उत्सव यस वर्ष ‘मिथिला वाइल्ड लाइफ ट्रस्ट’ र ‘प्रकृतिका साथीहरू’को संयुक्त आयोजनामा सम्पन्न भइरहेको छ। ‘प्रकृतिका साथीहरू’का कार्यकारी निर्देशक राजु आचार्यका अनुसार यो उत्सवले लाटोकोसेरो तथा हुचिल जस्ता चराहरूको अवैध शिकार र व्यापार नियन्त्रणका लागि जागरूकता बढाउनेछ।
यस उत्सवले वन्यजन्तु संरक्षणप्रति स्थानीय समुदायलाई अझ बढी जिम्मेवार बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।