काठमाडौँ- सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।
संसद सचिवालयका अनुसार राष्ट्रपति भण्डारीले अपराह्न चार बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् । विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै मापदण्ड पूरा गरी, स्वास्थ्य टोलीको सुझाव अनुसार दुरी कायम गरेर बसाइ व्यवस्थापन मिलाइएको छ ।
कोरोना संक्रमणको महामारीबीच आउन लागेको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखिएको छ । नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरी स्वास्थ्य सेवाका उपकरण र पूर्वाधार विस्तारमा जोड दिइएको छ । यही नीति तथा कार्यक्रमकै आधारमा जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेट ल्याउने छ ।