काठमाडौं : कोभिड- १९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौँ भित्रिएको छ।
चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर हिँडेका १० कन्टेनर चीनको खासा र नेपालको तातोपानी हुँदै आज काठमाडौँ आइपुगेका हुन्। ती सामग्री त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सेनाको १४ बाहिनीमा सङ्कलन गरिएको छ सरकार-सरकारबीच भएको खरिद सम्झौताअनुसार चीनबाट कोभिड-१९ महामारी रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि ३४३ टन स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ।
पहिलो चरणमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पिपिईलगायत एक एक हजार १८० क्युबी स्वास्थ्य सामग्री ल्याइएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।
खरिद गरिएकामध्ये नेपाल वायुसेवा निगमको जहाजमार्फत ४७.५ टन सामग्री केही दिनभित्रै नेपाल ल्याइनेछ। त्यसका लागि निगमको जहाज सोमबार चीनको ग्वाञ्जाओ जाँदैछ। अरु सम्पूर्ण स्वास्थ्य सामग्री सडक मार्गबाट भएर ल्याइनेछ।