रामेछाप – नेपाली काँग्रेसले चलाएको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा अग्रपंतिमा रहेर काम गर्ने प्रजातान्त्रिक योद्धा रुदप्रसाद ढुंगेलको आज निधन भएको छ । रामेछापको पकरबासमा जन्मिएका ढुंगेलको ८२ बर्षको उमेरमा काठमाण्डौंको कालिमाटीमा निधन भएको हो । उहाँ दुई दसक देखि काठमाण्डौंमा वस्दै आउनु भएको थियो । पञ्चायती व्यवस्था विरुद्ध नेपाली काँग्रेसले सुरु गरेको आन्दोलनका क्रममा विक्रम सम्बत २०१८ सालमा रामेछाप स्थित बडा हाकिमलाई बम हान्ने काममा स्वर्गिय ढुंगेलले नेतृत्व गर्नुभएको थियो ।
एकजना साथि लिएर रामेछाप पुग्नुभएका ढुंगेल आँटिलो र जुझारु संगठक हुनुहुन्थ्यो । २०१८ साल पछि भारतमा निर्वासित हुनु भएका उहाँ केहि बर्ष भारतिय सेनामा भर्ति हुनुभएको थियो । स्व.बिपी कोइराला, गिरीजा कोइराला र सरोज कोइरालाको अत्यन्त नजिक रहेर आन्दोलनमा सरीक हुनुभएका ढुंगेल भारतिय सेनाको जागिर छोडेर स्वर्गीय नेता सुबर्ण सम्शेरले आव्हान गरेको आन्दोलनमा होमिन आउनु भएको थियो ।
पञ्चायती व्यवस्था विरुद्ध जस्तो सुकै आन्दोलन गर्न पछि नपर्ने स्व. ढुंगेल रामेछापका त्यागि र निष्ठावान नेता हुनुहुन्थ्यो । बहुदलिय व्यवस्था स्थापना पछि पनि उहाँले कुनै पदको लोभ गर्नुभएन । २०४९ सालमा भएको जिल्ला विकास समिति रामेछापको सभापति हुन गरीएको प्रश्ताव पनि उहाँले त्याग्नुभएको थियो । पार्टी भूमिगत हुदाँ रामेछाप, दोलखा, ओखलढुंगा र सिन्धुली जिल्लाका विभिन्न भागमा रहेर उहाँले काँग्रेसको संगठन गर्नुभएको थियो । उहाँ सादगी नेता स्व. भिमवहादुर तामाङ, र स्व. पद्मशंकर अधिकारी सगंै आन्दोलनमा रहेका बेला एकपटक सिन्धुलीमा सेनाको घेरामा पर्नुभएको थियो । परेवाडाडाँमा संगठन गर्दै गरेको बेला सेनाको घेरामा परेको सइको पाएपछि उहाँहरु कमलाखोज झरेर कमला नदिबाट डुंङ्गामा हेलिनुभएको थियो ।
३ दिन रातदिन हेलिएपछि डुंगा छेउ लगाउदा भारतमा पुगेको र त्यहिनै पार्टी सम्पर्कमा रहेर काम गर्न थाल्नुभएको समकक्षि रामचन्द्र वियोगीले वताउनुभयो । वियोगीका अनुसार ढुंगेल विना पैसा पनि जहाँ जान पनि तयार हुनुहुन्थ्यो । गोजिमा एक पैसा छैन भनेपनि उहाँ पार्टीले लगाएको काममा अगीसरेर जान तयार हुनुुहुन्थ्यो । ढुंगेल स्वर्गिय पद्मशंकर अधिकारी पार्टी जिल्ला सभापति हुदाँ उपसभापति हुनुहुन्थ्यो । त्यसपछि उहाँले पार्टीको उच्च पद पाउनु भएन ।
रामेछापको राजनीतीबाट ओझेल परेपछि ढुंगेल काठमाण्डौंको कालिमाटीमा व्यवसाय संचालन गरी वस्नुभएको थियो । उहाँ केहि दिन देखि विरामी पर्नुभएको थियो । स्वर्गीय ढुंगेलको निधन प्रति नेपाली काँग्रेसले गहिरो शोक व्यक्त गर्दै रामेछापको उच्च चरित्रावान र निष्ठावान नेता गुनाउनु परेको जनाएको छ । सामाजिक संजालमा स्वर्गीय ढुंगेल प्रति श्रद्धाञ्जली दिने अधिकांशले त्यागि र निष्ठावान राजनितिज्ञ गुमाउनु परेकोमा दुख्ख व्यक्त गरेका छन् ।