काठमाडौं – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई विशेष राहत उपलब्ध गराउने भएको छ। प्रहरी प्रधान कार्यालयले सोमबार निर्णय गर्दै प्रत्येक परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको हो।
प्रहरी प्रवक्ता विनोद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका सहकर्मीका परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराइनेछ।” उनका अनुसार सो रकम प्रहरी संगठनभित्रै आईजीपीदेखि प्रहरी निरीक्षकसम्मको एक दिनको तलब कट्टा गरी संकलन गर्ने निर्णय भएको छ।
प्रहरी संगठनले यो कदमलाई मानवीय संवेदना र सहकर्मीप्रतिको कर्तव्यबोध स्वरूप लिएको जनाएको छ। प्रवक्ता घिमिरेका अनुसार, आन्दोलनको संवेदनशील परिस्थितिमा ज्यान गुमाएका प्रहरीका परिवारलाई संगठनले सदैव साथ दिने प्रतिवद्धता समेत प्रकट गरेको छ।
यसअघि पनि विभिन्न आन्दोलन तथा दुर्घटनामा ज्यान गुमाउने प्रहरीका परिवारलाई संगठनमार्फत सहायतामूलक सहयोग उपलब्ध गराउँदै आएको छ। तर, यसपटकको व्यवस्था बढी संस्थागत ढंगले लागू गरिएको बताइएको छ।

