काठमाडौं — नेपाल उसु महासंघले पछिल्लो समय विभिन्न माध्यममा फैलिएका “असत्य, भ्रामक र गैर–तथ्यात्मक” सूचनाप्रति आपत्ति जनाउँदै आफ्नो वैधानिकता र नेतृत्वबारे आधिकारिक विज्ञप्ति सार्वजनिक गरेको छ। महासंघले आफू राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा मान्यता प्राप्त एकमात्र वैधानिक निकाय भएको पुनः स्पष्ट गर्दै वास्तविक तथ्य सार्वजनिक गरेको हो।
महासंघका अनुसार २०७९ सालमा सम्पन्न साधारणसभा तथा निर्वाचन राखेपको नियमावलीअनुसारै सम्पन्न भएको थियो। सोही साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई राखेपले वैधानिकरूपमा मान्यता प्रदान गरिसकेको बताए ।
वैकल्पिक नेतृत्व दाबी अस्वीकृत
महासंघले २०७९ माघमा केही व्यक्तिहरूले अवैधानिक रूपमा वैकल्पिक कार्यसमिति दाबी गर्ने प्रयास गरेको खुलाएको छ। यद्यपि राखेपले २०८० वैशाख २३ गते उक्त दाबी पूर्ण रूपमा अस्वीकृत गर्दै विद्यमान कार्यसमितिलाई नै वैधानिक समिति ठहर गरिसकेको उल्लेख छ। यससँगै २०७९/१२/२४ मा सम्पन्न प्रक्रियाबाट निर्वाचित समितिकै नेतृत्व आधिकारिक रहेको पुनः पुष्टि गरिएको छ।
२०८१ वैशाख १५ र १६ मा सम्पन्न उसु खेलाडी छनोट प्रतियोगिता पनि पूर्ण वैधानिक, पारदर्शी र निर्धारित प्रक्रियाअनुसार सम्पन्न भएको महासंघको दाबी छ।
भ्रामक गतिविधिमाथि कारबाहीको माग
उसुको नाममा भ्रम फैलाउने, झुटा सूचना प्रवाह गर्ने तथा खेल समुदायमा अव्यवस्था सिर्जना गर्ने गतिविधि भइरहेको भन्दै महासंघले राखेपको निर्णयअनुसार सम्बन्धित व्यक्तिहरूविरुद्ध कानुनी कारबाही आवश्यक रहेको बताएको छ। राखेप बोर्डले यसअघि पनि यस्ता गतिविधि रोक्न निर्देशन दिइसकेको उल्लेख विज्ञप्तिमा गरिएको छ।
महासचिव नवराज ढुंगानाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ— “नेपाल उसु महासंघ राखेपद्वारा मान्यता प्राप्त वैधानिक संस्था हो। ११ औँ राष्ट्रिय खेलकुदका तयारीसहित महासंघका सबै गतिविधि निर्धारित रूपमा अघि बढिरहेका छन्। खेलाडी, प्रशिक्षक तथा सर्वसाधारणलाई भ्रममा पार्न खोजिने कुनै पनि भ्रामक प्रचारप्रति नपर्न अनुरोध गर्दछौं।”
महासंघले खेलकुद समुदाय, सदस्य संघ–संस्थाहरू, प्रशिक्षक तथा खेलाडीलाई आधिकारिक स्रोतबाहेक अन्यत्रबाट आएका दाबीमा विश्वास नगर्न आग्रह गरेको छ।

