काठमाडौँ — नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले ह्विलचियरसहित बन्जी जम्प गरेर साहस र आत्मविश्वासको ऐतिहासिक उदाहरण प्रस्तुत गरेकी छन्। सिन्धुलीकी दीपा देवकोटाले सिन्धुपाल्चोकस्थित द लास्ट रिसोर्टमा सफलतापूर्वक बन्जी जम्प गर्दै “अपाङ्गता बाधा होइन, अवस्था मात्र हो” भन्ने सशक्त सन्देश दिएकी हुन्।
स्पाइनल बाइफिडा शारीरिक अपाङ्गता हुँदाहुँदै पनि देवकोटाले साहसिक खेलकुदमा सहभागिता जनाउँदै समाजमा व्याप्त नकारात्मक सोचलाई चुनौती दिएकी छन्। उनी एक सक्रिय अपाङ्गता अधिकारकर्मीसमेत हुन्। विभिन्न सामाजिक अभियानमार्फत अपाङ्गता भएका व्यक्तिहरू पनि समाज, समुदाय र राष्ट्रका हरेक गतिविधिमा समान रूपमा सहभागी हुन सक्षम छन् भन्ने उदाहरण उनी स्वयं बनेकी छन्।

बन्जी जम्पपछि देवकोटाले भनिन्, “अपाङ्गता कमजोरी होइन। आत्मबल र अवसर पाएमा हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौँ। मेरो यो प्रयासले अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु।”
उनको यो कदम अपाङ्गता भएका महिलाहरूको सशक्तीकरण र समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण उपलब्धि मानिएको छ। नेपालमा साहसिक पर्यटन क्षेत्र तीव्र गतिमा विस्तार भइरहेका बेला, देवकोटाको यो साहसिक कार्यले अपाङ्गता भएका व्यक्तिहरूका लागि साहसिक खेलकुद र पर्यटन क्षेत्र पनि पहुँचयोग्य हुनुपर्छ भन्ने मुद्दालाई थप बल दिएको छ।

विशेष कुरा के भने, देवकोटाले यो साहसिक जम्प आफ्नै जन्मदिनको अवसरमा गरेकी हुन्। यस सन्दर्भमा उनले भावुक हुँदै भनिन्, “अपाङ्गता भएको सन्तान जन्माएको भन्दै समाजले मेरा आमाबुबालाई सामाजिक र मानसिक रूपमा विभेद गरिरहँदा पनि म आज यहाँ उभिन सकेकी छु। त्यसैले म मेरा जन्मदिने आमाबुबालाई धन्यवाद दिन चाहन्छु—एक सक्षम र साहसी छोरी जन्माइदिनुभएकोमा। अपाङ्गताले मेरो जीवनको कुनै पनि अध्याय रोक्ने छैन। यही कारण मेरा लागि मेरा अभिभावक र मेरो जन्मदिन दुवै विशेष छन्।”
दीपा देवकोटाको यो ऐतिहासिक साहसिक कदमले अपाङ्गता भएका व्यक्तिहरूका लागि सम्भावनाका ढोका अझ फराकिला बनाउने अपेक्षा गरिएको छ।

