नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले सहमतिका आधारमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
मंगलबार आफ्नो निजी सचिवालयमा पार्टीका ३० भन्दा बढी केन्द्रीय सदस्यहरूसँग भएको छलफलमा नेता कोइरालाले यस्तो धारणा राखेका हुन्। ‘अहिले राष्ट्रिय सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेदवार टुंग्याउनुपर्ने चटारो छ,’ कोइरालाले भने, ‘त्यसैले विशेष महाधिवेशन पक्षधरहरूसँग छलफल गरेर माघ ६ गतेपछि बोलाउँदा उचित हुन्छ। त्यतिबेलासम्म मनोनयनका सबै प्रक्रिया सकिन्छन् र यसले पार्टीमा एकताको सन्देश पनि दिन्छ।’
अहिले पार्टीभित्र विशेष महाधिवेशनको माग उठिरहेका बेला कोइरालाले निर्वाचनको कार्यतालिकालाई ध्यान दिएर मध्यमार्गी बाटो रोज्नुपर्ने बताए।सबैको मनोभावना सम्बोधन हुने गरी केन्द्रीय समितिले नै विशेष महाधिवेशन डाक्नुपर्ने र आफू त्यसका लागि लागिपरेको बताए।
