काठमाडौं – नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने भएको छ।
प्रदर्शनीमा नेपाली सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटोहरू, ऐतिहासिक हातहतियार, उपकरण तथा नेपाली सेनाले निर्वाह गर्दै आएका विभिन्न भूमिकासम्बन्धी सामग्रीहरू प्रदर्शन गरिनेछ।
यसका साथै प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा सेनाको भूमिका, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दल तथा सैनिक विद्यालयहरूसँग सम्बन्धित विविध गतिविधिहरू समेत समेटिनेछन्।
आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरू नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा माघ ४ गते बिहान ११:३० बजेदेखि बेलुका ५ बजेसम्म तथा माघ ५ देखि ७ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म अवलोकन गर्न सकिनेछ। प्रदर्शनीस्थलमा प्रवेश जङ्गी अड्डाको पश्चिमतर्फको गेटबाट निःशुल्क व्यवस्था गरिएको छ।
