काठमाडौँ – सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका विविध गतिविधिबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले आयोजित नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी २०८२ सम्पन्न भएको छ।
जङ्गी अड्डा परिसरमा माघ ०४ गतेदेखि ०७ गतेसम्म सञ्चालन भएको चारदिने प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष संरक्षण, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, सैनिक विद्यालय, राष्ट्रिय सेवा दललगायतका गतिविधि समेटिएका कुल ३० वटा स्टल राखिएका थिए।
प्रदर्शनीको माघ ०४ गते प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उद्घाटन गर्नुभएको थियो। प्रदर्शनीमा आम जनसमुदायका साथै विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समापनको अवसरमा माघ ०७ गते जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले सहभागी युनिटहरूलाई धन्यवाद ज्ञापन गर्दै प्रशंसा पत्र प्रदान गर्नुभयो।
प्रदर्शनीमार्फत अवलोकनकर्ताहरूले नेपाली सेनाको विकासक्रम तथा हाल सम्पादन गरिरहेका विविध जिम्मेवारीबारे जानकारी प्राप्त गरेको विश्वास लिइएको छ।





